- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट गएराति अबेर पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उनीहरु बिक्कि साहेब गुप्ता र सागर श्रीजोगेन्द्र पाल हुन् । उनीहरुलाई आज मुम्बई ल्याइँदै छ ।
अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए ।
घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो । खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।
मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । यो समूहले सलमानलाई यसअघि पनि पटक पटक धम्की दिँदै आएको छ ।