arrow

झापामा आंशिक निषेधाज्ञाको उल्लंघन भएपछि लगाइयो पूर्ण निषेधाज्ञा 

logo
युवराज रेग्मी,  
प्रकाशित २०७८ वैशाख २२ बुधबार
Jhapa_District.png

झापा । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरको भयावह स्थितिलाई मध्यनजर गर्दै झापा जिल्लामा आइतबार मध्यरातदेखि जारी आंशिक निषेधाज्ञाको ब्यापक उल्लंघन भएपछि अब पूर्ण निषेधाज्ञा नै लगाइने भएको छ । 

सर्वसाधारण आफै सचेत हुनुको सट्टा निर्वाध रुपमा यत्रतत्र हिँडडुल गर्ने तथा सवारी साधनहरु पनि नियमको धज्जी उडाउँदै सडकमा गुडाएपछि झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले त्यस्ता सवारी चलाउने चालकलाई सडकमै होल्ड गरी सचेत गराए पनि अत्यधिक मात्रामा सवारी सडकमा यात्रारत रहेको पाइएको बताए ।       
   
जिल्लामा दिनानुदिन ठूलो संख्यामा कोरोना भाइरस  संक्रमितहरु थपिने क्रम जारी रहेपछि वाध्य भएर जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्ने निर्णय गरेको तिमिल्सिनाले बताए । उनले झापामा बुधबार मध्यरातदेखि पूर्ण निषेधाज्ञा लगाइने जानकारी दिए । 

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मंगलबार राति बसेको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको प्रजिअ तिमिल्सिनाले बताए । 

बैशाख ३१ गते राति १२ बजेसम्म पूर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय भएको प्रजिअ तिमिल्सनाले जानकारी दिए । जिल्ला  प्रशासनले बैशाख १९ गते मध्यरातिदेखि जिल्लामा आंशिक निषेधाज्ञा लगाएको थियो । आंशिक निषेधाज्ञा उल्लङ्घन भएको ठहर गर्दै प्रशासनले पूर्ण रुपमा निषेधाज्ञा लगाएको हो ।

अहिलेको निषेधाज्ञामा बिहान ११ बजेसम्म पसल खोल्न दिइनुका साथै  जोरबिजोर प्रणालीमा यातायातहरु  सञ्चालन भइरहेका छन् । अब पूर्ण निषेधाज्ञा लागू भए पश्चात् भने पसल बजार, यातायात पूर्ण रुपमा बन्द हुने छ्न्  । 

हाल झापामा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ७४१ पुगेको छ । सरकारले जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सय नाघे पश्चात् थप कदम उठाउन स्थानीय प्रशासनलाई आदेश दिइसकेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ