arrow

बिर्ता सिटी जग्गा किर्ते प्रकरण : आरोपी सहित जिल्ला मालपोतका कर्मचारी फरार

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
malpot-aparadhi.jpg

झापा । बिर्तामोडका स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा अर्कोलाई बिक्री गरेको रहस्य बाहिरिएसँगै जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाका अधिकृतसहित कम्प्युटर अपरेटरसम्मका कर्मचारी फरार भएका छन् ।

झापा जिल्ला अदालत भद्रपुरले घटनामा संलग्न भएको व्यक्तिको नाममा थुनछेकको आदेश जारी गरेपछि मालपोत तथा तथा भूमि सुधार कार्यालयका पाँच जना कर्मचारी फरार भएका हुन । फरार नभई उनीहरू बिदा बसेको मालपोत तथा भूमि सुधार कार्यालयका प्रमुख मालपोत अधिकृत योगेन्द्र दुलालले बताए ।

मालपोत अधिकृत चेतन अधिकारी, मोठ फाँटका सुब्बा हरि तिवारी, रजिस्ट्रेसन फाँटका सुब्बा चैतन्य घिमिरे, खरदार हेम शर्मा र कम्प्युटर अपरेट झलेन्द्र बराल विगत केही दिनदेखि कार्यालयमा उपस्थिति नभएको लेखापढी व्यवसायीहरू बताउँछन्। अदालतले पाँच जनामध्ये दुई जनाको नाममा थुनछेक आदेश जारी गरेको प्रहरी स्रोतले जनाएको छ । अन्य तिन जना घटनामा मुछिने डरले फरार भएको हुने सक्ने बताइएको छ ।

साबिक चारपाने गाविस १ हाल बिर्तामोड नगरपालिका १ अदुवा पुलस्थित पूर्व-पश्चिम राजमार्ग नजिकै स्वर्गीय टुंङगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका७ निवासी रञ्जु राईको नाममा रजिस्ट्रेसन पास भएको छ ।

२०७७ साल माघ २१ गते राईको नाममा रजिस्ट्रेसन पास भएको छ । तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते मृत्यु भइसकेको थियो ।

 नक्कली टुंङगबहादुर बनेका व्यक्तिले ७१ वर्षको उमेर खुलाएर काठमाडौँ जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाएका । उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका-३ डाँगावारि बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको र राजवंशीले राईलाई सो जमिन ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा बिक्री गरेको मालपोतको स्रेस्ता मा देखिन्छ ।

झापा जिल्ला अदालतले बस्नेत जग्गा प्रकरणमा मुछिएका व्यक्तिको नाममा थुनछेक आदेश जारी गरिसकेको प्रहरी स्रोतले जनाएको छ । अदालतले थुनछेक आदेश जारी गरेसँगै प्रहरी कार्यालय झापाले जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिसकेको छ ।

झापा प्रहरीले अहिलेसम्म १० जना बढीलाई पक्राउ गरिसकेको छ । तर, उनीहरूको नाम प्रहरीले खुलाउन चाहेको छैन । पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले छानबिन गरिरहेको छ । प्रहरीले हालसम्म वारेसनामा भएका व्यक्ति बाह्रदशी-३ का मङ्गलसिंह राजवंशी, जग्गा किन्ने रञ्जु राई र उनका श्रीमान् गोविन्द राईसहित १० जनालाई पक्राउ गरेको हो । व्यक्तिको जग्गा हडप्ने उनीहरूमाथि साङ्गठनिक गिरोह अपराधमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले अनुसन्धान थालेको पनि झन्डै दुई महिना बित्न लाग्यो । तर, अहिलेसम्म फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यता प्रमुख मालपोत अधिकृत दुलालले बस्नेत जग्गा प्रकरणमा कर्मचारीको कुनै दोष नरहेको दाबी गरेका छन् । ‘अदालतबाटै व्यक्तिको नाममा वारेसनामा आएपछि सोही अनुसार कर्मचारीले जमिनको रजिस्ट्रेसन पास गरेको हो,’ उनले भने, ‘कार्यालयका कर्मचारीलाई कसरी थाहा हुन्छ, को व्यक्ति सही वा गलत हो भनेर रु हामीले त अदालतको कागज अनुसार काम गरेका छौँ ।’ ‘कार्यालयका पुराना कर्मचारीहरू सरुवा भएर अन्यत्र जानु, अनि नयाँ कर्मचारी आएपछि घटना हुनु, यो बाहिरीबाटै ठुलो योजना बनेको हुनुपर्छ, उनले भने ।’झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर बिक्री गर्ने मुख्य नाइके गौरीगञ्ज गाउँपालिका वडा न १ कुञ्जीवारिका बलराम विश्वकर्मा रहेको खुलासा भएको छ ।

उनी केही वर्षदेखि बिर्तामोडमा बसेर दुई नम्बरी धन्दा गर्दै आएका थिए । यसअघि उनलाई प्रहरीले नक्कली राजश्वको स्टिकर सहित पक्राउ गरेको थियो । उनलाई त्यो बेला राजनीतिक संरक्षण गरेर छुटाइएको थियो । प्रहरीले उपलब्ध गराएको विवरणमा सुशील नै मुख्य नाइके भएको जलाइएको छ ।

उनीसहित प्रहरीले बाह्रदशी ३ घर भई बिर्तामोड २ बस्दै आएका ३९ वर्षीय मङ्गलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी नमस्ते होटेल चन्द्रगढीका सञ्चालक भद्रपुर ७ का ५२ वर्षीय नवीन कोइराला, जग्गा कारोबारी बाह्रदशी ५ का ५० वर्षीय लिलाधर राजवंशी, विद्युत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी ८ का भुपदेव कटुवाल, बिर्तामोडमा ट्याक्टर सोरुम सञ्चालन गर्ने अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सनका सञ्चालक बिर्तामोड ४ का ४३ वर्षीय गोविन्द बान्तवा य , बिर्तामोड १० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड ४ कि ३३ वर्षीया रञ्जु राई र उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

फरार हुनेहरूमा गौराहद ७ का वडाध्यक्ष बलराम खरेल, मालपोत भद्रपुरका अधिकृत चेतन अधिकारी, मालपोतका तत्कालीन ना.सु. हरि तिवारी, ओखलढुङ्गा चिशंखुगडी -७ का बेग प्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग ११ का देव बहादुर विष्ट र भद्रपुर ७ का ५३ वर्षीय प्रकाश कार्की रहेका छन् ।

उनीहरू विरुद्ध ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा सङ्गठित अपराध मुद्रामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिहरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ