arrow

गण्डकी प्रदेशले नयाँ सरकार पाउँदै

जनमोर्चा अविश्वासको प्रस्तावको पक्षमा, नवलपुरले मुख्यमन्त्री पाउँदै

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ वैशाख १ बुधबार
prithivi-subba-krishnachandra-nepali.jpg

नवलपुर  । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आए प्रस्तावको पक्षमा उभिने निर्णय गरेसँगै मुख्यमन्त्री  पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार धरापमा परेको छ । बुधवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अविश्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका हुन् ।

जनमोर्चाको यो घोषणासँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२, जनमोर्चा ३ र जनता समाजवादी २ सहित मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारको विपक्षमा ३२ सांसद पुगेका छन् । प्रदेश सभामा एमाले पक्षका २८ सांसद ( १ स्वतन्त्र सहित) रहेका छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।

जनमोर्चाको तर्फबाट केसीको आधिकारिक वक्तव्य आएसँगै गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको विषयले गति लिन सुरु गरेको छ । केसीको यो वक्तव्य सँगै सत्ता इतरका दलहरू मिलेर सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने र नयाँ सत्ता समीकरण बनाउने बाटो खुलेको छ । केही दिन अगाडि बाट कांग्रेस, माओवादी र जसपा मिलेर नयाँ सत्ता समीकरणको लागि गरेको छलफलले जनमोर्चाको निर्णय आए पछि  मूर्त रूप लिन लागेको हो ।

स्रोतका अनुसार सत्ता समीकरण अगाडि बढाउने विषयमा एकै ठाउँमा रहेका कांग्रेस र माओवादी बिच नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा टुङ्गिन नसके पछि कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच मङ्गलवार भएको भेटवार्ताले कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

देउवा र प्रचण्ड बिचको यो सहमतिले छिट्टै गण्डकी प्रदेशको सत्ता समीकरण परिवर्तन भएर कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थाको विकास भएको हो । स्वाभाविक रूपमा कांग्रेसको दलको नेता नै मुख्य मन्त्री बन्ने भए पछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने कुरामा कांग्रेसमा विवाद नभएको कांग्रेसबाट निर्वाचित एक प्रदेश सभा सदस्यले बताए ।

यदि कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने देशकै कान्छो जिल्लाको रूपमा रहेको नवलपुरले मुख्यमन्त्री पाउने निश्चित देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ