arrow

२०७७ का चर्चित वडाध्यक्ष सूर्य लामा: जसले ठोरीको सीमा नाकामा काँडेतार लगाएर चर्चा कमाए

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १ बुधबार
surya-lama-ward-chief-thori.jpg

काठमाडौं। देश कोरोनाको सन्त्रास बढ्दै थियो । मुलुकमा लकडाउन भयो । हवाईदेखि सडक मार्ग ठप्प थिए । सीमा नाकामा कडाइ थियो । मुलुकसँग उत्तर र दक्षिणी दुबै छिमेकीसँगको आवतजावत बन्द थियो । बितेको वर्ष बन्द कोठामा बसेर नेपालीले गुजारेको समय थियो त्यो । त्यही समय चर्चामा थिए, पर्सा जिल्ला ठोरी गाउँपालिका ३ का वडाध्यक्ष सूर्य लामा । 

लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिका ३ का वडाध्यक्ष सूर्य लामाले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका थिए । 

लामाले भारतको विहारसँग सीमा जोडिएको वडा-३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मङ्सिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठुला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको बताउँदै  आइरहेका छन् । 

कोरोना संक्रमणको बढ्दो त्रासकै बीचमा गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको अवधिमा पनि लामाले करिब १ हजार ५ सय मिटर काँडेतार लगाएका छन् । 

वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्टाएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको बताउँदै आएका छन् । 

यस्तै सीमा क्षेत्रमा लगाएको काँडेतारका कारण भारततर्फबाट आउने जङ्गली जनावरबाट वर्षेनी हुने गरेको बालीनालीको क्षतिसमेत कम भएको लामाले जानकारी दिए । 

यसरी उनले २०७४ सालदेखिको विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र तेस्रो वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको बताउँछन् । 

उनको सो कार्यको चौतर्फी प्रशंसा भएको थियो भने संसदमासमेत वडाध्यक्ष लामालाई सरकारले सम्मान गर्नु पर्ने आवाज उठेको थियो । 

उनको सो कार्यको प्रशंसा गर्दै सुर्खेतको एक स्थानीय तहले थप स्थानमा काँडेतार लगाउनका लागि एक लाख सहयोग गर्ने घोषणासमेत गरेको थियो । 
वडाध्यक्ष लामाले नयाँ वर्षका अवसरमा आफूलाई चिन्ने सबैलाई शुभकामना दिँदै देश र जनताको हितका लागि सधैँ प्रतिबद्ध रहने बताएका छन् । 

लामाले भने,‘नयाँ वर्षले सबैमा जोश जाँगरसहित नयाँ काम गर्ने प्ररणा मिलोस् र मलाइ पनि सबै देशवासीबाट त्यही ऊर्जा प्राप्त होस्’ लामाले हाम्राकुरासंगको संवादमा भनेका छन् । 

उनले वर्ष २०७७ मा आफूले गरेको कार्यलाई समाचारकामार्फत देश विदेशमा पुर्‍याउन सहयोग गर्ने संचारकर्मीहरुलाईसमेत धन्यवाद दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ