arrow

दोस्रो चरणमा खोप लगाएकाहरूले समयमै अर्को डोज नपाउने चिन्ता

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ चैत २९ आइतबार
Vaccine-Covid-Corona-Nepal_1618133095.jpg

काठमाडौं । दोस्रो चरणको खोप अभियानमा पहिलो डोज खोप लगाएका ६५ वर्षमाथि उमेर समूहका नागरिकले दोस्रो डोज खोप समयमै नपाउन सक्ने चिन्ता बढेको छ ।

भारत सरकारले अनुदान स्वरूप दिएको (१० लाख डोज), नेपाल सरकारले खरिद गरेको (१० लाख डोज) र कोभ्याक्स सुविधाबाट आएको (३ लाख ४८ हजार डोज) गरेर नेपालमा २३ लाख ४८ हजार डोज खोप आपूर्ति भएको थियो ।

यसमध्ये १८ लाख ५ हजार डोज खोप लगाइ सकिएको छ । अब, करिब ५ लाख ४३ हजार डोज खोप मात्रै बाँकी छ । दुई चरणमा लगाइएको खोपको यो संख्या मध्ये पहिलो चरणमा ४ लाख ३९ हजार जनाले खोप लगाएका थिए । उनीहरूलाई वैशाख ७ गतेदेखि दोस्रो डोज लगाइँदै छ ।

पहिलो चरणको खोप अभियानमा खोप लगाएका ४ लाख ३९ हजारलाई पुग्ने खोप सरकारसँग रहेको खोप शाखाका प्रमुख डा. झलक शर्माले बताएका छन् ।

जोखिमपूर्ण समूहलाई छैन दोस्रो डोज
जेठको तेस्रो साताबाट दोस्रो चरणमा खोप लगाएका ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरूलाई दोस्रो डोज दिनुपर्नेछ ।सरकारले उति बेला जोखिमपूर्ण उमेर समूह भन्दै ६५ बर्ष उमेर भन्दा बढी उमेर भएकाहरूलाई खोप लगाएको थियो । 

तर, अहिले यसै समूहलाई लगाउन चाहिने झण्डै १३ लाख ६६ हजार डोज खोप सरकारसँग छैन । भारतको सेरम इन्स्ट्यिुटलाई यसअघि नै भुक्तानी गरिसकेको १० लाख डोज खोप त्यहाँबाट आउन बाँकी छ । भने, कोभ्याक्स सुविधा अन्तर्गतबाट पनि दोस्रो डोजका लागि खोप आउन बाँकी छ ।

खोप आउने टुङ्गो छैन
सरकारले खरिद नै गरेको भए पनि १० लाख डोज खोप कहिले आउँछ भन्ने टुङ्गो भने लाग्न सकेको छैन ।

गत शुक्रवार मात्रै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश मन्त्री एस जयशंकरसँग फोन वार्ता गरेर खोप आपूर्तिका लागि आग्रह गरेका थिए ।यसअघि पनि सरकारी अधिकारीहरूले भारतीय पक्षसँग छलफल गर्दै आएका थिए । तर, भारतमै खोपको अभाव भए पनि अन्य देशहरूले पाउने सम्भावना न्यून हुँदै गएको हो ।

बेलायत, ब्राजिललगायतका देशमा पनि सेरम इन्स्ट्यिुटले समयमै खोप निर्यात गरेको छैन । कोभ्याक्स सुविधा अन्तर्गतबाट पनि नेपालमा थप खोप कहिले आउँछ भन्ने टुङ्गो छैन । यस कारण करिब १४ लाख मानिसले समयमै दोस्रो डोज खोप लगाउन नपाउने चिन्ता बढेको हो ।

के भन्छ स्वास्थ्य मन्त्रालय ?
खोप आपूर्तिका लागि पूर्ण प्रयास र छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप जेठको अन्तिम सातातिर आवश्यक पर्ने र त्यति बेलासम्म व्यवस्था गर्न सक्ने किसिमले मन्त्रालयले प्रयास गरिरहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

मन्त्रालयले पूर्ण प्रयास गरिरहेको र खोप उपलब्ध हुने सम्भावना बढी रहेको सङ्केत गर्दै प्रवक्ता डा. गौतमले भने, ‘यसबारे खुसीको खबर पाउनु हुनेछ ।’

भारतमै खोप अभाव
खोप उत्पादक भारतमै खोपको अभाव भएको छ । खोप अभावकै कारण भारतको विहार, माहाराष्ट्रालगायतका विभिन्न राज्यमा खोप अभियान स्थगित भएको छ । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप उत्पादक सेरम इन्स्ट्यिुटले खोप उत्पादनलाई थप सशक्त बनाउनका लागि ३ हजार करोड भारतीय रुपैयाँ आवश्यक परेको बताएका छन् ।

कम्पनीले खोप विदेशमा बेच्दा आफूलाई कठिनाइ नहुने मूल्यमा बेचेको थियो । तर, भारत सरकारले खोपको कम मूल्य तिर्दा कम्पनीलाई आर्थिक समस्या परेको इन्स्ट्यिुटका प्रमुख कार्यकारी अधिकृत अदर पुनावालाले बताएका छन् ।

सरकारले पूर्ण प्रयास गरे पनि खोप उत्पादक भारतमै समस्या भएको अवस्थामा यसले खोप समयमै नमिल्ने हो कि भन्ने प्रश्नलाई झनै बलियो बनाएको छ । अक्सफोर्ड र एस्ट्रेजेनेकाले बनाएको भारतमा उत्पादित कोभिसिल्ड खोप नेपालमा लगाइएको थियो ।

अहिले चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल भित्रे पनि यो खोप केही मानिसहरू र केही स्थानमा मात्रै उपलब्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ