arrow

भारतमा एकैदिन डेढ लाख नाघे कोरोना संक्रमित, सक्रिय संक्रमित ११ लाख बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
corona-india_1618102834.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । भारतमा शनिबार एकै दिन एक लाख ५२ हजार ५६५ जना संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको अहिलेसम्मकै बढी हो । विगत एक सातादेखि निरन्तर एक लाख भन्दा बढी संक्रमित थपिने क्रममा शनिबार अहिलेसम्मकै सबैभन्दा उच्च संक्रमित थपिएका हुन् । 

शुक्रबार १ लाख ४४ हजार ८२९ संक्रमित थपिएका थिए । हरेक दिन नयाँ रेकर्ड राख्ने क्रममा संक्रमितहरु हजारौंको संख्यामा थपिएका छन् । बिहीबार एकैदिन १ लाख ३१ हजार ८७८ जना संक्रमित थपिएका थिए । यसअघि बुधबार एकैदिन १ लाख २६ हजार २६५ जना संक्रमित थपिएका थिए । मंगलबार १ लाख १५ हजार २६२ संक्रमित थपिएका थिए । 

हरेक दिन संक्रमणको नयाँ रेकर्ड बन्दै गएको छ । गत आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै यो हप्ता रेकर्ड दिनानुदिन बढ्दै गएको हो । गत आइतबार १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका थिए । त्यो रेकर्डसमेत मंगलबार तोडियो । बुधबार त सीमा नै झन् नाघ्यो ।  बिहीबार त कल्पनाभन्दा बाहिर नै गयो । शुक्रबार अकल्पनीय भयो । शनिबार झन् अकल्पनीय भयो ।

भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार नवौं दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

विद्यालयहरु ठप्प पारिएका छन् । दोस्रो लहरको नयाँ भेरियन्टले युवा र बालबालिकालाई बढी आक्रमण गरेको छ । 

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजार ४६५ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर ११ लाख २ हजार ३७० पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शनिबार ८३८ जनाको ज्यान गएको छ । शुक्रबार ७७३, बिहीबार ८०२, बुधबार ६८४, मंगलबार ६३० र सोमबार ४४५ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ६९ हजार ३०५ जनाको ज्यान गइसकेको छ । 

शनिबार ९० हजार ३२८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २० लाख ७८ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शनिबार ५५ हजार ४११ जना संक्रमित थपिएका छन् । शुक्रबार एकैदिन ५८ हजार ९९३ जना संक्रमित थपिएका थिए । बिहीबार एकैदिन ५६ हजार २८६ जना संक्रमित थपिएका थिए । बुधबार ५९ हजार ९०७ जना संक्रमित थपिएका थिए । मंगलबार ५५ हजार ४६९ जना र सोमबार भने यो संख्या घटेर ४७ हजार २८८ रहेको थियो । 

शनिबार एकैदिन ३०९ जनाको ज्यान गएको छ । शुक्रबार ३०१, बिहीबार ३७६, बुधबार ३२२ र मंगलबार २९७ जनाको ज्यान गएको थियो । 

महाराष्ट्रमा मात्रै हाल ५ लाख ३६ हजार ६८२ जना सक्रिय संक्रमित रहेका छन् । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ११ हजार ९९८ पुगेका छन् । शनिबार ३ हजार ४६९ जना संक्रमित थपिएका छन् । शुक्रबार २ हजार १७४ जना संक्रमित थपिएका थिए । 

हाल छत्तीसगढमा ८५ हजार ३६०, कर्नाटकमा ६१ हजार ६५३, उत्तर प्रदेशमा ५८ हजार ८०१, केरलमा ३९ हजार ७७४, तमिलनाडूमा ३७ हजार ६७३, दिल्लीमा २८ हजार ७७३ सक्रिय संक्रमित रहेका छन् । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । औषधिको समेत अभाव हुन थालेको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

तस्वीर– भारतको गुजरातस्थित सुरतबाट मजदूरहरु कोरोनाका कारण काम ठप्प भएपछि गाउँ फर्किंदै । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ