arrow

रामकृष्ण परमहंसको अठोट

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ चैत १२ बिहिबार
ramakrishna-paramahansa2.jpg

श्री रामकृष्ण परमहंस बिहान देखिनै आफूसँग भेट गर्न आउने हरूलाई भेट दिनुहुन्थ्यो । जो आउँदथे, उनीहरू बढी से बढी समय उहाँसँग बस्ने इच्छाले बस्दथे । यो क्रम रातिसम्म पनि चलिरहन्थ्यो तर परमहंसलाई त्यसले कुनै प्रभाव पार्दैनथ्यो । उहाँ जेसुकै कष्टहरू आए पनि त्यसलाई सरल तरिकाले नै व्यथित हुन दिनुहुन्थ्यो ।

उहाँको केटाकेटी बेलादेखि नै यस प्रकारको चलन थियो । मानिसहरूले गर्ने अनेक प्रपञ्च, देखावटी आदि कुरामा उहाँ कुनै चाख राख्नु हुन्थ्यो । अनेक जन्मको सञ्चित पुण्यले मात्र मनुष्य जीवन पाइन्छ भनेर उहाँ सबैलाई परमात्मा चिन्तनमा लाग्न प्रेरित गर्नुहुन्थ्यो ।

बाहिर एउटा कुरा भित्र अर्को कुरा लिएर मानिस सरल बन्न सक्तैन, सरल नबनीकन परमात्मा दर्शन पाइन्न, त्यसैले सरल बन्नु भनेर उपदेश दिनुहुन्थ्यो । उहाँ आफैँ पनि जे अठोट गर्नुहुन्थ्यो, त्यसलाई मन, बचन र कर्मले पूरा गर्नुहुन्थ्यो ।
 
उहाँ कसैले तर्कपूर्ण जवाफ दियो भने त्यसलाई अनुसरण गर्नु हुन्थ्यो । उहाँ घाँसमा हिँड्नु हुन्थ्यो । एक दिन उहाँ हिँड्दा पैतालामा कुनै किराले टोकिदिएछ । उहाँले सम्झनु भयो कि मलाई सर्पले टोकेछ । उहाँले सुन्नुभएको रहेछ कि सर्पले दोहोर्याएर टोक्यो भने पहिले टोकेको विष उत्रन्छ । त्यसैले उहाँ नजिकैको सर्पको प्वालमा हात घुसाउन जानुभयो ।

उहाँको त्यो चाला देखेर एकजनाले बाबा, त्यो त गल्ती भयो, सर्पले जुन ठाउंमा पहिले टोकेको छ त्यही ठाउँमा फेरि पनि टोक्यो भने मात्र त्यो सिद्धान्तले काम गर्छ भनेछन् । श्री रामकृष्णले उनको कुरामा विश्वास गर्नुभयो र आफ्नो हात झिक्नुभयो ।
उहाँ आफूले सुनेको कुरा पालना भयो भएन भनेर पनि उत्सुक हुनुहुन्थ्यो । उहाँ केटाकेटी हुँदा एक जना पण्डितले श्रीराम कथा भनेका रहेछन् । प्रसङ्गवश उनले श्रीराम कथाले मैलो जति सबै हटेर जान्छ भनेर बताए छन् । भोलिपल्ट त्यही पण्डित गंगास्नान गर्न गएको देख्नु भएछ ।

उहाँले उनलाई सोध्नुभयो, पण्डित जी, हिजो तपाईँले श्रीराम कथाले मैलो हट्छ भन्नुभएको थियो, तपाईँले कति पटक राम कथा भनी सक्नुभयो किन नुहाउनु भएको त? उनले जवाफ दिएछन्, 'हो बाबु, श्रीराम कथाले मनको मैलो फाल्दछ तर शरीरको मैलो फाल्न भने त स्नान गर्नु नै पर्छ ।' उसको यस्तो जवाफ आएपछि उहाँलाई सान्त्वना भएछ ।
(श्री रामकृष्ण साहित्यमा आधारित) ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ