arrow

संसद बैठक ‘बंक’ गर्दै प्रधानमन्त्री ओली

logo
बाबु नेपाली,
प्रकाशित २०७७ फागुन २७ बिहिबार
kp-sharma-oli4.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक ‘बंक’ गर्न थालेका छन् । उनले संसद पुनस्र्थापना भएपछि लगातार दोस्रो पटक संसद बैठक ‘बंक’ गरेका छन् । 

ओली आफैले संसद विघटन गरेका थिए । गत पुस ५ गते उनले संसद विघटन गरे । असंवैधानिक भएर उनले गरेको विघटनविरुद्ध संसदमा १३ वटा मुद्दा परे । 

ती मुद्दाको गत फागुन ११ गते फैसला भयो । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्यो । ओलीको व्यवहार र उनले पुस ६ गतेदेखि धक्म्याउँदै आइरहेका र अनावश्यक मन्त्रीहरुले गरेका प्रचारका कारण सर्वोच्चलाई ओलीको व्यवहारप्रति विश्वास लागेन । 

अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउन निर्देशनात्मक फैसला नै गर्यो । र, प्रधानमन्त्री ओली फागुन २३ गते संसद बोलाउन वाध्य भए । 

२३ गते बैठक बस्यो । तर ओली बैठक शुरु हुनुअघि नै बाहिर निस्किए । पहिलो पटक उनले संसद ‘बंक’ गरे । 

उनले बैठक बस्न ढिलाई भएको भन्दै छिट्टै निस्किएको बताएका थिए । २३ गते अपरान्ह ४ बजे बैठक बोलाइएको भए पनि सोही दिन सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामलाई स्वीकार नगरी ऋषिराम कट्टेलले आफ्नो पार्टीको नाम भएको दाबीसहित दुई वर्षअघि हालेको रिटमा सुनुवाई गर्दै नेकपा कट्टेललाई दियो । 

सँगसँगै अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई विधिवत् छुट्टाएर पुरानै अवस्थामा फर्काइदिएसँगै संसदमा पनि तनाव हुनु स्वभाविकै रह्यो । 

सोही कारण ढिलाई भएको थियो संसद बैठक बस्न । अनि ओली हिँडिदिए । हिँड्ने बेलामा संचारकर्मीलाई भनेका थिए, ‘सर्वोच्च अदालतको फैसलालाई मान्छौं ।’

बैठक त बस्यो तर सौहार्द भएन । पहिलो दिन संसद नबसेको अवधिमा यदि मृत्यु भएका सांसद तथा पूर्व सांसदहरु छन् भने उनीहरुको सम्झनामा शोक प्रस्ताव पारित गर्दै बैठक टुंगिन्छ । 

तर त्यो दिन त्यस्तो भएन । सरकारका अध्यादेश नै पेश गर्न दिइयो । त्यसको विरोध भयो । अनि २६ गतेलाई बैठक डाकियो । 

अर्को दिन ओलीले सभामुखले आफूहरुसँग सल्लाह नै नगरी अगाडि बढ्न खोजेको आरोप लगाए । 

२६ गतेको बैठक दिँउसो १ बजेलाई डाकियो । सभामुख अग्निप्रसाद सापकोटा पार्टी सचेतकहरुसँग एजेन्डाबारेमा छलफल गर्दै थिए । संसद सचिवालयका अनुसार त्यो दिन दलका नेताहरुलाई पनि बोल्ने समय दिने, शोक प्रस्ताव पारित गर्ने लगायतका कार्यक्रम राखिएको थियो । 

तर ओली १ बजेपछि फेरि संसद बैठक ‘बंक’ गर्दै हिँडे । त्यसपछि सचिवालयका कार्यक्रम तुहिए । शोक प्रस्ताव पारित गरी बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । 

ओलीले आखिर किन यसो गरिरहेका छन् ? 
संसद प्रजातन्त्रको मन्दिर हो । संसदीय प्रणालीमा प्रधानमन्त्रीले संसदको सम्मान गर्नुपर्छ । भाग लिनुपर्छ । अनि सरकारले संसदलाई बिजनेश दिनुपर्छ । तर ओलीले त्यसो गरिरहेका छैनन् । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘प्रधानमन्त्रीजी संसदमा रहनु पर्दथ्यो । तर उहाँ संसदमा भाग लिन खोजिरहनु भएको छैन । पटक पटक उहाँले गरिमा घटाउने काम गर्नुभएको छ ।’

आखिर किन त ? उनी भन्छन्, ‘प्रधानमन्त्री ओली संसदभन्दा म माथि हुँ भनेको देखियो । संसद भंग गर्नुभयो । अहिले फेरि सम्मान नगर्ने । भाग नलिने । छल्ने गर्नुभयो ।’

उनले भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुलाई सम्झिए । भने, ‘जवाहरलाल नेहरुले सबै बैठकमा भाग लिन्थे । संसदलाई मान्थे । त्यो संस्कार हो । हाम्रा प्रधानमन्त्रीमा राजनीतिक संस्कार देखिएन ।’

प्रधानमन्त्रीलाई संसदमा राख्नका लागि के गर्न सकिएला त भन्ने प्रश्नमा त्रिपाठी भन्छन्, ‘उहाँले संसदलाई मन्दिर मान्नुभएको छैन । सभामुखले सूचित गर्न सक्छन् । रुलिङ गर्न सक्छन् ।’

उनले ओलीले सर्वोच्चको मुद्दालाई समेत बेवास्ता गरेको आरोप लगाए । अहिले पनि कुनै बिजनेश नदिएर केही दिनमै संसद अन्त्य गर्न खोजेको हुन सक्ने उनको अनुमान छ । 

विद्यालय र कलेजमा विद्यार्थीले कक्षा ‘बंक’ गर्दा सजाय पाउँथे । तर ओली खुलेआम भइरहेका छन् । उनलाई कानूनले कुनै सजाय दिन सक्दैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ