नेकपा विवादबारे यथाशीघ्र निर्णय गर्न निर्वाचन आयोगलाई पाँच पूर्वप्रमुख आयुक्तहरूको दबाब
प्रकाशित २०७७ फागुन १९ बुधबार
924
Shares
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विषयमा निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरेपछि आयोगका पूर्वप्रमुख आयुक्तहरुले चाँडै उपयुक्त निर्णय लिन दबाब दिएका छन् ।
निर्वाचन आयोगमा विचाराधीन रहेको नेकपाको विवादमा यथाशीघ्र निर्णय गर्न उनीहरुले बुधबार दबाब दिएका हुन् । सामुहिक रुपमा विज्ञप्ति जारी गरी पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद उपाध्याय र दोलखबहादुर गुरुङले आयोगको काममा दबाब दिएका हुन् ।
राजनीतिक दलको विवाद निरुपणमा ढिलाई गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताको विषयमा उठाइएको प्रश्नले आफूहरुको ध्यानाकर्षण भएको उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्नसक्ने असरलाई समेत विचार गरी प्रचलित कानून तथा स्थापित नजीरहरुका आधारमा यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौं ।’