प्रधानमन्त्रीले तुरुन्त पदबाट राजीनामा दिन र पार्टीको सचिवालय बैठक बोलाउन बामदेव गौतमको माग
प्रकाशित २०७७ फागुन १२ बुधबार
810
Shares
काठमाडौं । विभाजित बन्न पुगेको पार्टीलाई एकता गराउने अभियान थालेका नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीले पदबाट राजीनामा दिन र पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
बुधबार विहान एक प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनुपर्ने र अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन माग गरेका हुन् ।
प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको फैसलालाई ऐतिहासिक भनेका गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि सुझाव दिएका छन् ।
संसद विघटन बदर भएको दिनलाई उपाध्यक्ष गौतमले निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा उल्लेख गरेका छन् ।