arrow

हार्दा पनि झुकेन अहम्

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ फागुन १२ बुधबार
KP-Oli-family.jpg

काठमाडौँ । मानिस गल्ती गरेपछि पाठ सिक्छ । तर कोही कस्ता हुन्छन् भने गल्ती नै भए पनि त्यसलाई गल्ती देख्दैनन् । त्यो अहम् पालेर बस्नेमध्ये एक हुन् प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली । उनले आफैले लेखेको संविधानको अवहेलना गर्दै हुँदै नभएको शक्तिको दुरुपयोग गरेर संसद् विघटन गरे । 

तर सर्वोच्च अदालतले उनको निर्णयलाई उल्टाइदियो । गत पुस ५ गते उनले हठात् प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसले गर्दा यो दुई महिना भन्दा बढी समय नेपाली राजनीतिमा अमङ्गल नै छायो । राजनीति उल्टो बाटोमा हिँड्यो । 

आफैले लेखेको संविधानमा पनि सांसदहरू भागबन्डामा लागे । आफैँले लेखेको संविधानमाथि उनीहरूले विश्वास गरेनन् । कसैले संसद् विघटन गर्न पाइन्छ भने कसैले पाइँदैन भने । अन्ततः न्यायको ढोकाबाट उज्यालो प्रकाश आयो । सत्यको जित भयो । संसद् ब्युँतियो । 

केपी ओलीले नराम्रोसँग हारे । उनको घमन्ड चकनाचुर भयो । हुँदै नभएका धाराको वर्णनदेखि लिएर अन्तर्राष्ट्रिय अभ्यासका नाममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओलीको सिफारिसमा सोच्दै नसोची मोहर लगाइदिइन् । 

यसबाट राष्ट्रपति हारिनन् । सिङ्गो राष्ट्रपति संस्थाको गरिमामाथि नै ठुलो आँच आएको छ । योभन्दा पीडा नेपाली राजनीतिमा अरू हुनै सक्दैन । राष्ट्रपति कार्यालयले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएन । 

त्योभन्दा क्रूर र अहम् त ओलीले नै पाले । 

मङ्गलवार साँझ प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला सर्वोच्चले गरिरहँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रमिता थियो । पार्टी थियो । खुसीयाली थियो । 

यो खुसीयाली सर्वोच्चले नेपाली राजनीति र नेपाली जनतालाई जितायो भनेर हैन ओली स्वयं ७० वर्ष लागेको अवसरमा जन्मोत्सवको थियो । 

उनले भव्यरुपले जन्मोत्सव मनाए । त्यो पनि साङ्गीतिक कार्यक्रमसहित । उनीसँगै केही मन्त्री तथा उनका निकटस्थ र परिवारका सदस्य थिए । 

उनीहरूले पनि खुसीयाली मनाइरहेका थिए । ओलीलाई थाहा थियो संसद् ब्युँतियो । तर ओलीमा कुनै गुनासो थिएन । उनले आफ्नो हाउभाउमा अलिकति पनि पीडावोध गराएनन् । 

‘देश जलिरहेछ नुरो बाँसुरी बजाइरहेछ’ भनेझैँ देशले अर्को बाटो लिँदा पनि उनलाई कुनै मतलब थिएन । उनलाई त्यो बालुवाटारको शानबाट अब सांसदले मुक्त गर्दैछ भन्नेसम्म पनि ठानेनन् । 

आफ्नो अहङ्कारले गर्दा आज यो दिन देख्नुपर्‍यो भनी धिक्कार पनि गरेनन् । उनले त्यो भाव आफ्नो अनुहारमा आउनै दिएनन् । 

तर उनीसँगै साङ्गीतिक कार्यक्रमसहित झुम्न बाध्य पारिएका मन्त्रीहरूले के सोचिरहेका होलान् । उनका निकटस्थले के सोचिरहेका होलान् । अहँ ओलीले केही पनि भनेनन् । 

सम्भवतः उनीहरू ‘अन्तिम भोज’ भन्दै खुसीयालीमा सरिक भएका होलान् । 

ओलीले दोस्रो कार्यकालका लागि २०७४ को फागुन ३ गते प्रधानमन्त्रीको शपथ खाएका थिए । बालुवाटार रहेर उनले चौथो पटक जन्मोत्सव मनाए । तर यो कार्यकालको अन्तिम ‘बर्थडे पार्टी’ उनले भव्य मनाए । 

त्यसो त उनले मङ्गलवारलाई व्यस्त पारे । दिउँसो बालमन्दिरमा पुगेर जन्मदिन मनाए । यतिसम्म कि सर्वोच्चको फैसला आएपछि ओलीले श्रीमती राधिका शाक्यले लेखेको ‘मेरा अनुभूतिहरू’ किताब विमोचन गरेका थिए । 

टिप्पणी गर्नेहरू ओलीको यो ‘अन्तिम भोज’ नै भएको बताउँछन् । तर उनका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अदालतको फैसला सबैले मान्नुपर्ने तर फैसलाले जारी राजनीतिक समस्या हल नगर्ने भन्दै उनीहरूमा अझै पनि अहम् नगएको स्पष्टै हुन्छ । 

यहाँ हार्दा पनि झुकेन अहम् । 

वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गर्नु, अन्य दलहरूसँग समन्वय नगर्नु, सर्वोच्च अदालतलाई पटक पटक धम्कीपूर्ण दबाब दिनु, निर्वाचन आयोगलाई दबाबमा राख्नु अनि अब जोर चलेन भन्ने भएपछि असन्तुष्टि व्यक्त गर्नुले ओलीमा कहीँ कतै भएको राजनीतिक संस्कारको गन्ध पनि सकिएको स्पष्टै हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ