arrow

चाँदी खोला उत्खननमा मनपरी, राजस्व उधारो

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ फागुन ३ सोमबार
Chandi-river-rautahat.jpg

रौतहट। चन्द्रपुर नगरपालिकाले चाँदी खोला उत्खननको लागि ठेक्का दिएको कम्पनीले नियम विपरीत खोला उत्खनन गरेको स्थानीयले गुनासो गरेका छन् । खोला उत्खनन गर्न ठेक्का पाएको आशिक कन्स्ट्रक्सन,वृन्दावन रौतहटले मोतीपुर घाट र मर्दर सिमसार घाटबाट नियम विपरीत मनलाग्दी खोला उत्खनन गरेको भन्ने जनगुनासो बढेपछि नगरपालिकाले स्थलगत अनुगमन गर्दा नियम मिचेर,३देखि ४ मिटर गहिरो पारेर नदिजन्य पदार्थ उत्खनन गरेको पाइएको नगरपालिकाका अनुगमन संयोजक काजीमान कुश्वारले बताए । 

स्थलगत अनुगमनमा गएका अनुगमन समितिका संयोजक कुश्वार र सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष अमर आलेले नदी उत्खनन रोक्न निर्देशन समेत दिएका छन् ।आर्थिक वर्ष २०७७/७८ का लागि २ प्याकेजमा ३६/३६ लाखमा मर्धर सिमसार र मोतीपुर घाटको  चाँदी खोलाको ठेक्का पाएको आशिक कन्स्ट्रक्सनको मनोमानी बढ्दै जान थालेपछि स्थानीयले केही समय अघि अवरोध समेत गरेका थिए । 

नगरपालिकालाई राजस्व समेत नबुझाउने सो  कन्स्ट्रक्सनले २१ लाख बराबर राजस्व समेत नगरपालिकामा तिर्न बाँकी रहेको नगरपालिकाका राजस्व फाँट प्रमुख राजेश सागरले जानकारी दिए । यता २ प्याकेजमा ६० हजार घन मिटर नदीजन्य पदार्थको उत्खनन अनुमति पाएको भए पनि सो कन्स्ट्रक्सनले सो परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिसकेको स्थानीय युवा सरोज बछारको दावी छ । 

ठेकेदार कम्पनीले नगरपालिकाले तोकेको मापदण्ड भन्दा तेब्बर गहिरो खाल्डो बनाएको र सोही खाल्डोका कारण खोला गाउँमा पस्ने खतरा बढेको स्थानीयहरू बताउँछन् । खोला दोहनका लागि ठेक्का पाएका ठेकेदारले खोलाको ग्रावल ढुवानी गर्दा पहिला बनिसकेका बाटो समेत बिगारेको स्थानीय पवन महतले बताए । 

पानी चुहाउँदै लैजाने गरेका कारण मोटर साइकल र साइकलमा बाटो हिड्नेहरू चिप्लेर लड्ने खतरा बढ्दै गएको भए पनि सम्बन्धित निकायले त्यस तर्फ ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ । खोला नै गाउँमा पस्ने गरी उत्खनन भएकाले खोला उत्खनन बन्द हुनुपर्ने स्थानीयको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ