arrow

चुनाव जिताएको राप्रपाले ओलीकै निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गर्ने

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
pm-olis1.JPG

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको दमक, गौरादह र गौरिगन्जमा राष्टिय प्रजातन्त्रीक पार्टी (राप्रपा) ले शक्ति प्रदर्शन गर्ने भएको छ । फागुन ८ गते झापाको निर्वाचन क्षेत्र नं. ५ मा बृहत् मोटरसाइकल र्‍याली आयोजना गर्दै राप्रपाले शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो ।

फागुन ८ गते राप्रपाले आयोजना गरेको क्षेत्रीय स्तरको विरोध र्‍यालीमा पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने भएका छन् । र्‍यालीलाई भव्य रूपमा सम्पन्न गर्नको लागि उक्त पार्टी निकट युवाहरूको सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनले युद्ध स्तरमा तयारी गरेको हाम्रा कुरालाई जानकारी प्राप्त भएको छ ।

युवा माझ लोकप्रिय रहेका राजेन्द्र योङ्या, राजकुमार राई, प्रकाश बस्नेत लगायतका नेताहरूको कमान्डिङमा २५० सदस्यीय र्‍याली परिचालन समिति गठन गरी पार्टी पङ्क्तिबाट सङ्घीय , प्रदेश, जिल्ला, क्षेत्र र स्थानीय तहबाट ४५० सदस्यीय मूल आयोजक समिति गठन गरिएको बताइएको छ । र्‍यालीलाई व्यवस्थापन गर्न करिब १ हजार युवा स्वयंसेवक हरू सडक भरी परिचालित हुने जनाइएको छ ।

साथै र्‍याली पुग्ने प्रत्येक चोक चोक र बजार क्षेत्रमा पार्टीको झन्डा तथा राष्ट्रिय झन्डा राखिने बताइएको छ । र्‍यालीका निम्ति मोटरसाइकल सबार व्यक्तिहरू दमक स्थित पुरानो रात्रिवश काउन्टर क्षेत्रमा भेलाभइ  कमल गाउँपालिकाको मंगलबारेमा विशेष कोणसभा गरिनेछ । भने गौरादह क्षेत्रमा पार्टी महामन्त्रीले कोणसभालाई सम्बोधन गर्ने साथै गौरिगन्जमा आयोजना गरिने कोणसभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्य तालिका सार्वजनिक गरिएको छ ।

तत्कालीन आम निर्वाचनमा केपी ओलीलाई उक्त क्षेत्र वाट जिताउन राप्रपाकै महत्त्वपूर्ण योगदान रहेको थियो । निर्वाचनताका राप्रपासँग कार्यगत एकता भएकै कारण ओलीले निर्वाचनमा जित हात पारेका थिए । ओली निर्वाचित क्षेत्रमा राप्रपा पनि निकै बलियो शक्तिको रूपमा देखिन्छ । आम निर्वाचन बाहेक स्थानीय सङ्घ संस्थाका निर्वाचनमा समेत राप्रपाले जता समर्थन गर्‍यो त्यतै पल्ला भारी हुने गरेको पाइन्छ । मुलुकमा फैलिएको गणतन्त्र प्रतिको वितृष्णासँगै राजसंस्था र हिन्दु धर्म पुनर्स्थापना तथा सङ्घीयताको खारेजीको एजेन्डा लिएको राप्रपामा युवा, बालबालिका देखि वृद्धसम्म क्रेज बढ्दै गएको पाइन्छ ।

उता काँग्रेस नेता डा. अधिकारीलाई गत निर्वाचनमा आफूले बेहोर्नु परेको हारको बदला लिने मौका पनि उत्तिकै छ ।  ओलीको निर्वाचन क्षेत्र भित्र पर्ने दुई नगरपालिका दमक र गौरादह तथा गौरिगन्ज र कमल गाउँपालिका मध्ये गौरिगन्ज र दमकलाई राप्रपाको बलियो प्रभाव क्षेत्रको रूपमा लिइन्छ ।

गत स्थानीय निर्वाचनको मेयर पदमा दमक नगरपालिकामा केपी ओलीका अति निकट मानिने रोम ओलीले राप्रपाका प्रभावशाली नेता राम थापासँग निकै कडा प्रतिस्पर्धा झेल्नु परेको र झिनो मतान्तरले मात्र जित हात पारेका थिए। गरिगन्ज गाउँपालिकामा राप्रपाबाट बाबु राजा श्रेष्ठले अत्यधिक मतान्तरले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । आम निर्वाचनमा केपी ओलीले ५५ हजार मत पाएका थिए भने नेपाली काँग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले ३३ हजार मत ल्याउन सकेका थिए । उता समानुपातिकमा प्राप्त मत हेर्दा राप्रपालाई करिब १७ हजार मत प्राप्त भएको थियो । यो गणनाबाट यदि राप्रपा सँग एमालेको चुनावी एकता नभएको भए केपी ओलीले हार बेहोर्ने थिए  ।

त्यसो त एमालेसँग मिलेर चुनाव लड्दा आफूहरूलाई पछुतो बाहेक केही नभएको राप्रपाका नेताहरूले स्वयं बताउने गरेका छन् । दुई तिहाइको प्रधानमन्त्री बनेर आफूलाई सर्वशक्तिमान् ठानेका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा वरको सिन्को पर सम्म सार्न नसकेको र केही निर्माणाधीन सडकहरू वर्षौँ देखि अलपत्र पारेर स्थानीयको हुर्मत लिने काम गरेको देखिएको छ ।

यस नगर भरी चलेका र ओलीको कार्यकालमा परेका ठुला योजना भने पनि नगर गौरवका योजना भने पनि डिपु-कोरोबारी ७ किमी सडक र डिपु-डिम्माउठ्ठा ६ किमी सडक मात्र हुन् । यद्यपि दुवै सडकको निर्माण भने अलपत्र नै देखिएको छ । 'सडक भरी निर्माण सामाग्री वर्षौँ देखि अलपत्र छन्, सडकबाट उडेको धुलो खाएको वर्षौँ भई सक्यो, सडक निर्माण सक्ने छाटकाट छैन', डिठ्ठाचोक निवासी एक युवाले दुखेसो पोखे ।

२०७३ सालमा ५ वटा गाविस. गाभेर निर्माण गरिएको गौरादह नगरपालिका जहाँ ओली पक्षका जनप्रतिनिधिकै अत्यधिक बहुमत छ, यो नगरपालिका मुलुककै सबैभन्दा भ्रष्ट नगरपालिकाको सुचीमा पुगेको छ भने, प्रशासनिक ढिलासुस्तीका कारण सेवाग्राहीहरू आजित हुने गरेका समाचार बारम्बार बाहिरिने गरेका छन् ।

महालेखा परीक्षक कार्यालयले गौरादह नगरपालिकाको व्यतिथिको डरलाग्दो डाटा नै सार्वजनिक गरेको थियो तर यसलाई ढाकछोप गर्ने कार्य मात्र गरिएको भन्दै स्थानीय रुष्ट देखिएका छन् । विकास निर्माणको कुरा गर्दा यस नगरपालिकामा अहिलेसम्म एउटा पनि सडक कालोपत्रे भएको देखिँदैन । ओलीले जिते पछि के न हुन्छ भनेर हिँड्ने स्थानीयहरू कहिले अर्को निर्वाचन आउला र बदला लिन सकिएला भनेर दाउ हेरिरहेको पाइन्छ ।

चौतर्फी विरोध र निन्दा चुलिएको बेला निर्वाचन घोषणा गरेका ओलीलाई आगामी निर्वाचनमा कहाँबाट चुनाव लड्लान् त ? यो प्रश्न अहिले सर्वाधिक चर्चामा रहेको छ भने पुरानो निर्वाचन क्षेत्रमा ओलीलाई फलामको चिउरा हुने कुरामा पछिल्लो राजनीतिक घटनाक्रमले उदाङ्गो पार्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ