arrow

प्रचण्ड-नेपाल समूहका नेताको हत्या गर्ने उद्देश्यले अन्धाधुन्ध गोली चलाएको आरोप

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ माघ २३ शुक्रबार
matrika-ramchandra.jpg

धनुषा । नेकपा प्रचण्ड-नेपाल समूहले बिहीबार घोषणा गरिएको आम हडतालको क्रममा जनकपुरधाममा प्रहरीले योजनाबद्ध ढङ्गले आफ्ना केही नेतालाई मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाएको छ ।
 
जनकपुरधाममा शुक्रवार पार्टीको धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्बर दुई का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले केही नेताको हत्या गर्ने उद्देश्यले आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली चलाएको र लाठी प्रहार गरेको पत्रकार सम्मेलनमा बताए ।

नेता महतोले भने, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता सहितका प्राप्त उपलब्धिहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समाप्त पार्नका लागि असंवैधानिक कदम चालेपछि विरोधमा बाध्यात्मकता मुलुकमा बन्दको घोषणा गर्नुपरेको हो  । हामी शान्तिपूर्ण ढङ्गले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासि जनकपुरधामको शिव चोकमा आएर सुनियोजित ढङ्गले स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने योजना अनुसार प्रहरीले फायरिङ गरेको नेता महतोले बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य श्रवण यादव बरबरियाले प्रहरीले न्यून सङ्ख्यामा रहेका प्रदर्शनकारीमाथि बल प्रयोग गरी योजनाबद्ध ढङ्गले नेता रामचन्द्र र नेता मातृका यादवमाथि हमला गरेको आरोप लगाएका छन् ।

नेकपा धनुषाका संयोजक सुधीर साह र सहसंयोजक दीपक यादवले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै शान्तिपूर्णता गरिएको प्रदर्शनमा भएको दमन र आक्रमणमा संलग्नमाथि कारवाहीको माग गरे।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो शान्तिपूर्ण जुलुसमा प्रतिगामी सरकारको मतियार भएर पूर्वाग्रही रूपमा अकारण स्थानीय प्रहरी-प्रशासनले ५० औँ राउन्ड गोली, अश्रुग्याँस, लाठी प्रहार तथा ढुङ्गा प्रहार गर्दै हाम्रो केन्द्रीय नेताहरूलाई ज्यान मार्ने प्रयास गरेका हुन् । यस क्रममा दर्जनौँ कार्यकर्ताहरूलाई बन्दी बनाई पूर्व मन्त्री मातृकाप्रसाद यादव, पूर्व मन्त्री रामचन्द्र झा, शहिदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया, कारीराम यादव, प्रदीप साहलाई गम्भीर घाइते बनाउनुको साथै दर्जनौँलाई घाइते बनाएका छन् ।'

बिहीबार जनकपुरधामका पसल बजारहरू बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरू जानकीचोकवाट जनक चौक हुँदै शिव चौक पुगेपछि विपरीत दिसा वाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रहरीले हवाइ फायर खोले पछि झडप भएको थियो ।

प्रहरीले लाठी चार्ज गरी नेता रामचन्द्र झाको टाउको फुटाएको छ भने मातृका यादव घाइते भएका छन् । झडपमा यादव, झा सहित ११ जना घाइते भएका छन् । झडपका क्रममा केही गाडीमा तोडफोडसमेत भएको छ । साथै प्रहरी निरीक्षक अशोक झाको कमाण्डमा रहेको टोलीले झडपको क्रममा १२ राउन्ड हवाइ फायर र दर्जनौँ अश्रुग्याँस फायर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ