arrow

भण्डारी र ओली संविधान बिरुद्ध अपराध गर्ने अपराधी हुन् : गगन थापा

माधव नेपाल र प्रचण्ड कायर हुँदा केपीले गरे लोकतन्त्रमाथि आक्रमण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ५ आइतबार
gagan-baneshwor.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले विद्यादेवी भण्डारीले राष्ट्रपति हुने हैसियत गुमाएको बताएका छन्। संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्तावलाई सदर गरेर राष्ट्रपति भण्डारीले वैशाखमा मध्यावधी घोषणा गरेपछि वानेश्वरमा आयोजित बिरोध सभामा बोल्दै नेता थापाले राष्ट्रपति भण्डारी आम नेपालीको राष्ट्रपति नभएर केपी ओली गुटको एक सदस्य मात्र भएको बताए।

संविधान विरुद्धको अपराधका साझेदार तथा अपराधीहरुलाई लोकतन्त्रवादीहरुले ठेगाना लगाउनु पर्ने थापाले बताए। थापाले भने,' संविधान विरुद्ध अपराध गर्ने अपराधी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई ठेगान लगाउँ । यहि राजनीतिक अस्थिरताको फाइदा उठाएर व्यवस्था विरुद्ध लाग्नेलाई पनि चिनौ।'

लोकतन्त्रमाथि धावा बोल्ने केपी ओलीको आँट नेकपा नेताहरुको कारणले आएको थापाले बताए । प्रतिपक्षी दलका हैसियतबाट पटकपटक खबरदारी गरिरहँदा त्यसलाई वेवास्ता गर्ने माधव नेपाल र प्रचण्ड हुतिहारा हुँदा यस्तो अवस्था आएको उनले बताए। थापाले भने, ' केपी ओलीको कारणले मात्र आएको होइन माधव नेपाल र प्रचण्ड हुतिहारा भएर भएको हो । पहिला हाम्रो कुरा सुनेनन् अहिले हिसाव किताव नमिलेपछि आरोपपत्र लिएर आए । तर अब ढीला भइसकेको छ ।'

नेकपाका नेताहरुले आँट गरेकै भए संसदीय दलमा किन छलफलमा गएनन्, सचिवालय र स्थायी कमिटीमा नाममा किन अलमल गरिरहे भन्ने प्रश्न गर्दै थापाले वामदेव आइतवार साँझ सम्म पनि प्रधानमन्त्री पाइन्छ की भनेर नो कमेन्ट भनेर बसेपनि हिसाव किताव नमिल्ने भएपछि बल्ल मुख खोलेर बिरोध गरेको बताए । उनले भने, 'सत्यको पक्षमा बोल्न नसक्ने र गल्तीलाई गल्ती भन्न नसक्ने नेकपाका नेताहरु कायर हुन।' 

थापाले कांग्रेस चुनावसँग नडराउने जनाउँदै तर असंवैधानिक कदमका विरुद्ध भने उभिनने बताए। चुनावसँग डराउने नभइ मेरै क्षेत्रकी महारानी बनेकी विद्यादेवीलाई चुनाव लड्न निम्तो दिएको थापाले पुन स्मरण गराए । उनले गलत काम रोक्ने सल्लाह दिन नसक्ने हुतिहारा सल्लाहकारसँग चुनाव लड्न कुनै अप्ठ्यारो नभए पनि ओलीको सनकको शिकार भएको संसदको पक्षमा रहेको बताए। 

विवादास्पद रुपमा संवैधानिक परिषदका नाममा आयोगहरुमा भएका कुनै पनि सिफारिस लागू नहुने थापाले बताए । कसैलाई संबैधानिक आयोगहरुमा नाम सिफारिस भएको लागिरहेको छ भने त्यो भ्रम नपाल्न सचेत गराउँदै थापाले भने संबैधानिक आयोगहरुमा सिफारिसको विधि हुन्छ। यदि कसैलाई म सिफारिस भए भन्ने लागेको छ भने त्यो संवैधानिक आयोग नभई त्यो केपी आयोग मात्र भएको थापाले बताए। यो संविधानले यस्ता कालो कोठाबाट भएका सिफारिस चिन्दैन। 

विगतमा लोकतन्त्रका लागि लडेकाहरुसँग माफी माग्दै थापाले लोकतन्त्र र संविधानमाथि खतरा संविधानकै संरक्षकहरुबाट भएको बताए। उनले व्यवस्था बचाउन फेरि एक पटक जुट्नुपर्ने अवस्था आएको भन्दै सबैलाई एकजुट भएर सर्वसत्तावादको बिरोधमा उत्रिन आह्वान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ