शिलान्यासको सात वर्षमा नागढुंगा सुरुङ मार्गको उद्घाटन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
418
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी, फाइल ।
काठमाडौँ । काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ७ वर्षमा उद्घाटन गर्न लागिएको हो ।
२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।
शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युतका, जाइका प्रमुखलगायतको उपस्थितिमा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु भएको थियो ।
‘रेस्क्यु टनेल’ ब्रेक थ्रु गरिँदा मुख्य सुरुङको ८२ प्रतिशत निर्माण भइसकेको थियो । त्यतिबेला मुख्य टनेलको ५ सय ६ मिटर खन्न बाँकी थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ ।
जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।
सुरुङ सोमबारदेखि सञ्चालनमा आउने भए पनि सबै सवारीले प्रवेश पाउने छैनन् । पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन् । पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।
सुरुङ प्रयोग निःशुल्क भने होइन । काठमाडौं भित्रिँदा र बाहिरिँदा कार/भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।