बुद्ध एयरले थप्यो नयाँ सिरिजको जहाज, व्यावसायिक उडानमा ल्याउने तयारी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
346
Shares
काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो फ्लीटमा नयाँ सिरिजको ‘एटीआर–७२–६००’ जहाज थपेको छ। कम्पनीले फ्रान्सको तुलुसबाट उक्त जहाज शनिबार नेपाल भित्र्याएको हो। आवश्यक कागजी प्रक्रियाहरू पूरा गरेपछि यसलाई आगामी महिनादेखि व्यावसायिक उडानमा ल्याउने कम्पनीले जनाएको छ।
नयाँ जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। कम इन्धन खपत गर्ने यो जहाज वातावरणमैत्री हुनुका साथै अघिल्लो सिरिजको तुलनामा कम ध्वनि प्रदूषण गर्ने दाबी गरिएको छ। यसमा ‘आरएनपी–एआर’ एप्रोच प्रणाली जडान गरिएको छ, जसको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित अवतरण गर्न सकिनेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यही प्रणाली लागू गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरिरहेको छ।
यो नयाँ प्रविधिले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घटाउन, उडान सुरक्षामा सुधार ल्याउन तथा हवाई सेवाको विश्वसनीयता बढाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। बुद्ध एयरले अर्को एटीआर–७२–६०० जहाज आगामी अगस्टको अन्त्य वा सेप्टेम्बरको सुरुतिर भित्र्याउने तयारी गरेको छ भने आगामी केही महिनाभित्र यही सिरिजका थप दुईवटा जहाज थप्ने योजना बनाएको छ।
यसअघि कम्पनीसँग एक एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एक एटीआर–७२–६०० गरी कुल १७ वटा जहाज सञ्चालनमा रहेका थिए। बुद्ध एयरले हाल आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौं–वाराणसी र काठमाडौं–कोलकाता नियमित उडान सञ्चालन गर्दै आएको छ।