arrow

भूइँमान्छेका मुद्दासँग जोडिएमात्रै कांग्रेस बलियो बन्छ : प्रदीप पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
pradeep-poudel-07-04.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई आम जनता र ‘भूइँमान्छे’का मुद्दासँग जोडेर नयाँ सोच र अभियानका साथ अघि बढाउनुपर्ने बताएका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले बीपी कोइरालाको नेतृत्वकालमा कांग्रेस समाजका सबै वर्ग र समुदायको आवाज बनेको स्मरण गर्दै अहिले पनि पार्टीले त्यही मार्ग पछ्याउनुपर्नेमा जोड दिए।

महामन्त्री पौडेलले कांग्रेस केवल राजनीतिक दल नभई महिला, दलित, मधेसी, भूमिहीन, किसान, श्रमिक र गरिब जनताको अधिकारका पक्षमा लड्ने आन्दोलन भएको उल्लेख गरे।

अहिले समय र चुनौती बदलिएकाले पार्टीले पनि आत्मसमीक्षा गर्दै जनताका वास्तविक समस्या आफ्नो एजेन्डाको केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।

उनले कांग्रेसलाई आधुनिक र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पार्टीको सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिए।

हालसम्म ८० प्रतिशतभन्दा बढी सदस्यले डिजिटल माध्यमबाट आफ्नो विवरण अद्यावधिक गरिसकेको र अब प्रत्येक क्रियाशील सदस्यलाई डिजिटल परिचयपत्र उपलब्ध गराइने उनले बताए।

यसबाट पार्टीभित्र पारदर्शिता बढ्नुका साथै सदस्य र नेतृत्वबीच प्रत्यक्ष सम्पर्क सहज हुने विश्वास उनले व्यक्त गरे।

आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउन कांग्रेसले उम्मेद्वार छनोट प्रक्रियामा ‘प्राइमरी’ निर्वाचनको अवधारणा लागू गर्ने तयारी गरेको पनि पौडेलले बताए।

प्रविधिको प्रयोगमार्फत डिजिटल भोटिङ प्रणाली विकास गरी उम्मेद्वार छनोटलाई थप लोकतान्त्रिक र पारदर्शी बनाइने उनको भनाइ थियो।

महामन्त्री पौडेलले युवालाई नेतृत्वमा अवसर दिन पार्टी विधानमा गरिएको व्यवस्था कार्यान्वयन भइरहेको उल्लेख गर्दै ३० र ३५ वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको बताए।

बीपी कोइरालाको विचारबाट प्रेरणा लिँदै कांग्रेसलाई जनमुखी, समावेशी र समयअनुकूल पार्टीका रूपमा पुनः स्थापित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उनको जोड थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ