बसोवास र जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
277
Shares
काठमाडौँ । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्नो बसोवास र जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीबार पनि माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन्। सरकारले उचित वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको भन्दै उनीहरूले आन्दोलन थप सशक्त रूपमा अघि बढाउने चेतावनी दिएका छन्।
आन्दोलनरत सुकुमवासी नागरिक प्रेमबहादुर तामाङले सरकारले वास्तविक सुकुमवासी र हुकुम्बासी नछुट्याई सबैलाई एउटै डालोमा हालेर अन्याय गरेको आपत्ति जनाए। सरकारले भूमि भएका र नभएका नागरिकबीच छानबिन गरेर मात्र बस्ती हटाउनुपर्नेमा त्यसो नगरिएको र पूर्वसूचनासमेत नदिई अचानक उठिवास लगाइएको उनको गुनासो थियो। आफूहरू विगत २० वर्षभन्दा बढी समयदेखि त्यहाँ बसोबास गर्दै आएको उल्लेख गर्दै उनले उचित वैकल्पिक व्यवस्था नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे।
सरकारले गत वैशाख १२ र १३ गते काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदी किनारका सुकुमवासी बस्तीमाथि डोजर चलाएको थियो। १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनिए पनि हालसम्म सरकारले सुकुमवासी तथा अव्यवस्थित बसोवासीको उचित प्रबन्ध गर्न नसकेका कारण उनीहरू आन्दोलित बन्न बाध्य भएका छन्।