वर्षापछि आएको विनाशकारी पहिरोका कारण स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित
दुई जलविद्युत् आयोजना र विद्यालयमा क्षति
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
244
Shares
काठमाडौँ । अविरल वर्षापछि आएको विनाशकारी पहिरोका कारण सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा एक सामुदायिक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन्। तल्लो र माथिल्लो तेन्छोङ बस्तीमा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि विस्थापितको सङ्ख्या २८ पुगेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो र माथिल्लो तेन्छोङका स्थानीयबासीको घर पहिरोको उच्च जोखिममा परेर विस्थापित भएको जानकारी दिए। पहिरोले स्थानीय सामुदायिक स्वास्थ्यचौकीलाई समेत जोखिममा पारेको छ।
बस्तीमाथिको जमिन चिराचिरा परेर बग्न थालेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सक्रियतामा सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली पुगेर उद्धार तथा सहजीकरण गरिरहेको छ। पहिरोको जोखिम लगातार बढ्दै गएपछि कतिपय स्थानीयवासी आफन्तकोमा आश्रय लिएर बसेका छन्।
सिलिचोङ गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे तुरुन्त सुरक्षित स्थानमा जान आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जोखिमपूर्ण बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा दीर्घकालीन पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको बताए।
बाढीपहिरोका कारण सिलिचोङस्थित दुईवटा स्थानीय जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ। ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत् र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत् आयोजना अवरुद्ध हुँदा गाउँका ६०० भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य भएको अध्यक्ष मेवाहाङले जानकारी दिए। यसका साथै सिसुवाखोलामा आएको बाढीले यहाँका दुईवटा विद्यालयमा समेत क्षति पुर्याएपछि विद्यार्थीहरूको पठनपाठन पूर्ण रूपमा बन्द भएको छ।