हप्तामा पाँच दिन मात्र कार्यदिन बनाइँदा मुद्दा व्यवस्थापनमा जटिलता थपियो: न्यायाधीश पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
226
Shares
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा छ दिनबाट घटाएर पाँच दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन्। कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपेको भन्दै उनले यसलाई सन्तुलनमा ल्याउन अदालत निरन्तर क्रियाशील रहेको उल्लेख गरे।
न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरोकारका विवाद (पीआईएल) र मानाचामल जस्ता शीघ्र किनारा लगाउनुपर्ने ‘अग्रधिकार’ प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढेको स्वीकार गरे। अत्यधिक कार्यबोझ र सीमित समयलाई संकेत गर्दै उनले "छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने" जस्तै चुनौतीपूर्ण स्थिति पैदा भएको टिप्पणी गरे।
मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एशोसिएशन, महान्यायाधिवक्ता र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उनले जानकारी दिए। "हाम्रो कार्यबोझ धेरै छ। अदालतले अग्राधिकार प्राप्त मुद्दालाई कसरी प्राथमिकता दिने र पुराना मुद्दा कसरी छिटो फर्स्योट गर्ने भन्ने विषयमा हामी उत्तिकै चिन्तित छौँ," उनले भने। पुराना मुद्दाहरूलाई छिटो फर्स्यौट गर्ने र प्राथमिकता प्राप्त मुद्दाहरूलाई न्यायोचित समयभित्रै टुङ्ग्याउन अदालत प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
यसका साथै, न्यायाधीश पौडेलले सञ्चारमाध्यमहरूलाई समाचार सम्प्रेषण गर्दा सत्यता र तथ्यपरकतामा विशेष ध्यान दिन आग्रह गरे। हचुवाका भरमा वा अरूको सिको गरेर भन्दा पनि यथार्थमा आधारित भई निर्भीक रूपमा समाचार लेख्न सञ्चारकर्मीहरूलाई सुझाव दिँदै उनले भने, "यथार्थ समाचार जति लेख्नुभयो, त्यति राम्रो हुन्छ। निर्ममतापूर्वक लेख्नुस्, तर हचुवाका भरमा ‘उसले लेख्यो, मैले पनि लेखौँ’ भन्ने शैलीमा नलेखिदिनुहोस्।"