असारे रोपाइँको चटारो, खेतबारीमै झल्किँदै श्रम र संस्कृतिको उत्सव
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
172
Shares
बाजुरा। बाजुरामा यतिबेला असारे रोपाइँको चटारो छ। वर्षायाम शुरू भएसँगै जिल्लाभरका किसान खेतबारीको काममा व्यस्त बनेका छन्।
जिल्लाका नौ ओटै स्थानीय तहमा धमाधम रोपाइँ भइरहेको छ भने बिहानदेखि साँझसम्म किसानहरूको दैनिकी खेतबारीमै बित्ने गरेको छ।
ग्रामीण परिवेश, स्थानीय संस्कृति र परम्पराको जीवन्त झल्को यतिबेला बाजुराका खेतबारीमा देख्न सकिन्छ। पुरुष र महिला दुवैले रोपाइँमा सक्रिय सहभागिता जनाइरहेका छन्।
पुरुषहरू हलो जोत्ने, गोरु डोर्याउने तथा खेत तयारी गर्ने काममा जुटेका छन् भने महिलाहरू धानको बेर्ना उखेल्ने र रोप्ने कार्यमा व्यस्त छन्। भोक, निद्रा र थकानलाई बेवास्ता गर्दै किसानहरू असारे काममा रमाइरहेका छन्।
असारे रोपाइँ बाजुरामा केवल कृषि कार्य मात्र होइन, संस्कृति र जीवनशैलीसँग गाँसिएको परम्परा पनि हो। खेतमा काम गर्ने क्रममा गाइने असारे भाका, रमाइला गीत तथा सामूहिक सहभागिताले रोपाइँलाई उत्सवमय बनाउने गरेको छ। हिलोमा रमाउँदै काम गर्ने किसानहरूको उत्साहले श्रमलाई समेत आनन्दमय बनाउने गरेको देखिन्छ।
रोपाइँको चटारोले किसानलाई आराम गर्ने फुर्सदसमेत दिएको छैन। हली, बाउस्या र रोप्न्यारीको सामूहिक सहभागिताले खेतबारीमा छुट्टै रौनक थपिएको छ।
रोपाइँका क्रममा गुञ्जिने असारे गीतका भाकाले वातावरणलाई झनै उल्लासमय बनाउँछन्। भेना, साली, देवर र भाउजूबीच खेतमै हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने परम्परा अझै जीवित छ।
बडीमालिका नगरपालिका-७ की कृषक जुना पाध्यायले रोपाइँ बाजुराको परम्परागत संस्कृति भएकाले हरेक वर्ष उत्साहका साथ मनाइने गरेको बताइन्।
‘असार महिना किसानका लागि निकै व्यस्त हुन्छ। धान रोपाइँसँगै कोदो सार्ने काम पनि यही बेला गर्नुपर्छ। महिनाभरि खेत जोत्न, रोप्न र कोदो सार्नमै समय बित्छ,’ उनले भनिन्।
उनका अनुसार किसानका लागि असार मेहनतको महिना हो। यही समयमा गरिएको श्रमले वर्षभरिको खाद्य सुरक्षा निर्धारण गर्ने भएकाले किसानहरू घाम, पानी, हिलो र दुःखलाई बेवास्ता गर्दै खेतमा खटिने गर्छन्।
स्थानीयका अनुसार रोपाइँ रहर मात्र नभई आवश्यकता पनि हो, किनकि यहाँका अधिकांश परिवारको मुख्य जीविकोपार्जनको आधार कृषि नै हो।
स्थानीय कृषक मोती पाध्यायका अनुसार खेतमा कामसँगै रमाइलो गर्ने परम्परागत शैली अझै कायम छ। पुरुषहरूले खेत जोत्न र खन्ने काम गर्छन् भने महिलाहरू बेर्ना उखेल्ने र रोप्ने काममा सक्रिय हुन्छन्। ‘रोपाइँ हाम्रो परम्परा, संस्कृति र संस्कार हो। यसलाई हामी जीवन्त राख्न चाहन्छौँ,’ उनले भने।
अहिले गाउँघरभन्दा बढी चहलपहल खेतबारीमा देखिन्छ। ‘हाहा-होहो’ गर्दै गोरु जोत्ने आवाज, रोप्न्यारीहरूले गाउने असारे भाका र सामूहिक श्रमको दृश्यले खेतबारी गुञ्जायमान बनेका छन्। एकता, सहकार्य र परम्पराको संरक्षण गर्दै श्रमलाई सहज बनाउन असारे गीत गाइने परम्परा अझै कायम छ।
रोपाइँ : परम्परा र श्रमको उत्सव
रोपाइँ केवल कृषि उत्पादनको प्रक्रिया मात्र होइन, परम्परा र श्रमको उत्सव पनि हो। विशेषगरी पहाडी क्षेत्रमा यसलाई सांस्कृतिक पर्वकै रूपमा लिने गरिन्छ। बिउबेडमा हुर्किएको धानको बेर्नालाई उपयुक्त समयमा हिलोयुक्त खेतमा सार्ने प्रक्रियालाई रोपाइँ भनिन्छ।
देशभर मनसुन सक्रिय भएसँगै जेठको अन्तिम सातादेखि असारे रोपाइँ शुरू हुने गर्छ। धान खेती नेपाली कृषिको प्रमुख आधार भएकाले रोपाइँलाई विशेष महत्वका साथ हेरिन्छ। गाउँघरमा अझै पनि ‘पणिमु’ अर्थात् पालैपालो श्रमदान गरेर एकअर्काको खेतमा रोपाइँ गर्ने चलन कायम छ।
ग्रामीण क्षेत्रमा रोपाइँ खेतीपातीको काममा मात्र सीमित छैन। यसले सामाजिक सद्भाव, आपसी सहयोग र सांस्कृतिक परम्परालाई समेत बलियो बनाउने काम गर्छ।
रोपाइँका बेला असारे भाका गाउने, हिलो खेल्ने र सामूहिक भोजन गर्ने चलन अझै जीवित छ। माटोको सुगन्ध, श्रमको सम्मान, आपसी सम्बन्ध र कृषि संस्कृतिलाई रोपाइँले नयाँ ऊर्जा प्रदान गर्ने गरेको छ।
रोपाइँले परम्परा र श्रमलाई मात्र जीवन्त राख्दैन, किसानको पहिचान र भविष्यसँग पनि जोडिएको हुन्छ। बीउलाई जमिनमा रोप्नु मात्र नभई आफ्नो मेहनत, आशा र जीवनको आधार रोप्नु पनि हो।
यही कारण रोपाइँले ग्रामीण जीवनशैली, महिला-पुरुषको श्रम, सामूहिकता र कृषि संस्कृतिको वास्तविक चित्र प्रस्तुत गर्ने गरेको छ।