काठमाडौँ । मध्यपूर्व युद्ध अन्त्यका लागि शान्ति सम्झौता घोषणा भएको भए तापनि इजरायली सेनाले बुधवार दक्षिण लेबनानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण जारी राखेको लेबनानी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लडाकु विमानहरूले नबातीह अल–फाका क्षेत्र तथा छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी भिषण छापा मारेका छन्। यसका साथै इजरायली सेनाले जह्रानी क्षेत्रको अन्सारीह सहरमा समेत ड्रोन आक्रमण गरेको जनाइएको छ।
अमेरिका र इरानबीच सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्ने सम्झौता घोषणा भएयता लेबनानमा हिंसात्मक गतिविधिहरूमा उल्लेख्य कमी आएको थियो। तर, सम्झौता भइसकेपछि पनि भएका यी पछिल्ला इजरायली आक्रमणका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
स्थितिमा सुधार आउने आशासँगै दक्षिण लेबनानका विस्थापित बासिन्दाहरूलाई आफ्नो बासस्थान फर्कन र गाउँहरूको निरीक्षण गर्न अनुमति दिइएको छ। यद्यपि, लेबनानी सेनाले इजरायली आक्रमणको जोखिम अझै बाँकी रहेको चेतावनी दिँदै स्थानीय नागरिकहरूलाई तत्काल घर फर्किने कार्यमा केही ढिलाइ गर्न आग्रह गरेको छ।
इरान समर्थित लडाकु समूह हेजबुल्लाहले गत मार्च महिनाको सुरुमा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेताको हत्या भएपछि त्यसको बदला लिन इजरायलमाथि रकेट प्रहार गरेको थियो। सोही घटनापछि लेबनान पनि मध्यपूर्व युद्धमा तानिएको थियो, जसको जवाफमा इजरायलले लेबनानमाथि हवाई तथा स्थलगत सैन्य अभियान सुरु गरेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म इजरायली आक्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ३ हजार ८२६ पुगिसकेको छ।
युद्धको निकास र सम्झौता कार्यान्वयनका विषयमा दुवै पक्षका दाबी र अडानहरू अझै बाझिएका छन्। इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलवार प्रतिक्रिया दिँदै यस युद्धका क्रममा कब्जा गरिएका क्षेत्रहरूबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता नभएसम्म द्वन्द्वको अन्त्य हुन नसक्ने स्पष्ट पारेका छन्। उनले आगामी दिनमा लेबनानमाथि हुने कुनै पनि सैन्य आक्रमण र लेबनानी भूमिमा निरन्तरको कब्जा शान्ति सम्झौताको ठाडो उल्लङ्घन हुने बताए।
तर, अर्कातर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार नै आफ्नो देशको सेना “आवश्यक भएसम्म“ लेबनानमै रहने अडान व्यक्त गरिसकेका छन्। यसैबीच, हेजबुल्लाहले मङ्गलवारदेखि दक्षिण लेबनानमा इजरायली सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गर्दै अहिलेसम्म कुनै नयाँ सूचना जारी गरेको छैन भने समूहका नेता नईम कासिमले बुधबार सार्वजनिक रूपमा टेलिभिजनमार्फत सम्बोधन गर्ने जनाइएको छ।