मेसीको ह्याट्रिकमा अल्जेरियाविरुद्ध अर्जेन्टिना ३-० ले विजयी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
485
Shares
काठमाडौँ । विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लयमा देखिएको छ । जारी विश्वकपको पहिलो खेलमा उत्कृष्ट शुरूआत गर्दै अर्जेन्टिना उपाधि दावेदारीमा उत्रिएको हो ।
अमेरिकाको मिसौरी राज्यस्थित कन्सास रंगशालामा समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हरायो ।
अर्जेन्टिनाका लागि कीर्तिमानी खेलाडी लियोनल मेसीले ह्याट्रिक गरे । उनले १७ औँ मिनेटमा पहिलो गोल गरे । उनले रोड्रिगो डे पलको पासमा सुन्दर गोल गरेका हुन् ।
त्यस्तै ६० औँ मिनेटमा मेसीले दोस्रो गोल गरे । त्यस्तै मेसीले ७६ औँ मिनेटमा तेस्रो गोल गरे । निको गोन्जालेजको पासमा मेसीले ह्याट्रिक पूरा गरेका हुन् ।
८० औँ मिनेटमा उनले मैदान छाडेका थिए ।
यो मेसीको विश्वकपमा १६ औँ गोल हो । योसँगै मेसी विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा गनिएका छन् । जर्मनीका मिरोस्लाभ क्लोजले पनि १६ गोल नै गरेका छन् ।
मेसीले त्यो रेकर्ड पनि तोड्ने निश्चित जस्तै छ । बिहान सेनेगलविरुद्ध दुई गोल गरेर फ्रेन्च खेलाडी केलिएन एम्बाप्पेले १४ गोल पुर्याएका थिए ।
मेसी अल्जेरियाविरुद्ध खेलेर आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेका छन् । उनका लागि अल्जेरिया विरुद्धको खेल २७ औँ विश्वकप खेल हो । ह्यामस्ट्रिङ इन्जुरीबाट रिकभर गरिरहेका मेसीले अल्जेरियाविरुद्ध प्लेइङ मिनेट्स पाएसँगै विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन् ।
अर्जेन्टिना इतिहास रच्ने अभियानमा छ । इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा अर्जेन्टिना रहेको छ । उता अल्जेरियाको लक्ष्य भनेको आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्ने हुनेछ ।
अमेरिका विश्वकप अर्जेन्टिनाका लागि लगातार १४औँ अनुभव हो । लियानेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहँदै उत्तर अमेरिकाको टिकट काटेको थियो । यो यात्रामा अर्जेन्टिनाले चिरप्रतिद्धन्द्धी ब्राजिललाई ४–१ ले हरायो ।
अर्जेन्टिनाले १८ खेलमा कूल ३८ अंक जोडेको थियो । कप्तान लियोनल मेसी आठ गोलसहित उच्च गोलकर्ता बने ।
छनोट प्रतियोगितापछि अर्जेन्टिनाले सात अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । सबै खेल आफ्नो पक्षमा पारेको अर्जेन्टिनाले कूल २१ गोल गर्दा मात्र एक गोल खायो ।
अफ्रिकन राष्ट्रविरुद्ध अर्जेन्टिनाले पछिल्ला ६ खेलमा विजयी हासिल गरेका छ । तर यसो भनिरहँदा गत संस्करण पहिलो खेमला एसियाली राष्ट्र साउदी अरेबियासँगको त्यो अप्रत्याशित हार अर्जेन्टिनाले बिर्सेको छैन । त्यसैले अल्जेरियालाई हल्का रुपमा लिन अर्जेन्टिनालाई छुट छैन ।
अल्जेरिया र अर्जेन्टिना अहिलेसम्म एकैपटक आमने–सामने भएका छन् । सन् २००७ मा यी दुईबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा नतिजा ४–३ ले अर्जेन्टिनाको पक्षमा गएको थियो । खेलमा मेसीले दुई गोल गरेका थिए ।
फिफा वरियतामा २८औँ स्थानमा रहेको अल्जेरिया आफ्नो पाँचौं विश्वकप अनुभव लिइरहेको छ । २०१४ ब्रजिल विश्वकपमा एकैपटक नकआउट चरण प्रवेश गरेको अल्जेरिया त्यसपछिका दुई संस्करण छनोट हुन सकेन ।
यसपालि अल्जेरियाको छनोट यात्रा एकदमै सम्झनलायक रह्यो । टोली आफ्नो समूहको शीर्ष स्थानमा रह्यो । टोली सबैभन्दा धेरै गोल गर्ने टोलीमध्ये एक थियो । स्ट्राइकर मोहम्मद अमौरा १० गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता बने ।
भ्लादिमिर पेट्कोभिकको नेतृत्वमा रहेको अल्जेरिया राम्रो लयमा पनि छ । विश्वकपअघि भएका चारमध्ये तीन मैत्रीपूर्ण खेलमा अल्जेरियाले विजयी हासिल गर्यो । यसबीच युरोपियन राष्ट्र नेदरल्यान्ड्सले पनि अल्जेरियासँग हार बेहोर्यो ।
समूह ‘जे’ को दोस्रो खेलमा बुधबार नै अस्ट्रियाले जोर्डनसँग खेल्नेछ । यो खेल बिहान ९ः४५ बजे हुनेछ ।