सहकारीको पैसा जनताको करबाट तिर्न शुरू गरेकै दिन सरकार र व्यवस्थाको दशा शुरू हुन्छ [भिडियो]
अब मुलुकमा आन्दोलन शुरू हुन्छ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
264
Shares
काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा वर्तमान गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिएका छन्। आइतबार काठमाडौँमा आयोजित प्रस्तावित 'राष्ट्रवादी पार्टी' निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन्।
सहकारी सञ्चालकहरूले जानीजानी ठगेको पैसा जनताको करबाट संकलन भएको बजेटमार्फत तिर्ने काम शुरू गर्ने बित्तिकै वर्तमान सरकार र व्यवस्था दुवै संकटमा पर्ने प्रसाईंको दाबी छ। उनले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै आफूले यसअघि नेकपा (एमाले) लाई जस्तै 'नाङ्गेझार' पार्ने चेतावनी समेत दिए। मुलुकमा अब अर्को निर्णायक आन्दोलन हुने र त्यसले पिँध नभएको गमला जस्तो कमजोर रहेको वर्तमान शासन व्यवस्थालाई बढार्ने उनले बताए।
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भने, “जसरी मैले एमालेलाई नाङ्गो बनाएको थिएँ, तिमीहरूलाई (रास्वपा र सरकार) पनि त्यसरी नै नाङ्गो बनाउँछु। हिजो तिमीहरूले हरेकका घरमा आगो लगाएका थियौ, आफ्नै समर्थकको घर पनि बाँकी राखेनौ। अहिले दुई–चार जनालाई पैसा दिएर मुख छाड्ने 'कन्टेन्ट क्रिएटर' राखिएको छ। जनताले ती सबैका घर वाच गरिरहेका छन्। भोलि अर्को आन्दोलन भयो भने के हुन्छ, त्यो सोच्नुहोला। आन्दोलन हुन्छ र यो पिँध नभएको गमला जस्तो भाँडो व्यवस्था जानेवाला छ। एउटा कुरा बुझ्नुस्– यिनीहरूले जानीजानी सहकारी ठगेका छन्, अनि त्यो पैसा बजेटमा छुट्याएर तिर्ने रे! ल तिर्न शुरू गर त, तिमीहरूको दशा त्यहीँबाट शुरू हुन्छ।”
संयोजक प्रसाईंले देशका वास्तविक समस्याहरू तर्फ सरकारको ध्यान नगएको भन्दै आक्रोश पोखे। उनले निजी अस्पतालहरूले स्वास्थ्य बीमाबापत पाउनुपर्ने २२ अर्ब रुपैयाँ नपाएको, दूध उत्पादक किसानको १० अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको र खेतीको समयमा किसानले मल समेत नपाएको अवस्था उल्लेख गरे। यस्ता गम्भीर र संवेदनशील विषयमा आँखा चिम्लेर सरकार सहकारी ठगहरूलाई जोगाउन र राज्यकोषको दुरुपयोग गर्नतर्फ लागेको आरोप उनले लगाए।