बाम्तीभण्डार सुनसान, सडक र बदलिएको यात्राशैलीले व्यापार खस्कियो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
226
Shares
रामेछाप । कुनै समय सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ। सडक सञ्जालको विस्तार र पर्यटकको यात्रा शैलीमा आएको परिवर्तनसँगै यहाँको व्यापार तथा पर्यटन व्यवसायमा उल्लेख्य गिरावट आएको स्थानीयले बताएका छन्।
पहिले दोलखाको जिरीबाट बाम्तीभण्डार हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु पुग्ने पदमार्ग अत्यन्त व्यस्त थियो। विदेशी पर्यटकले बजार भरिभराउ हुन्थ्यो, होटलमा कोठा नपाएपछि कतिपय पर्यटकले टेन्टमै रात बिताउने गर्थे।
तर अहिले अधिकांश पर्यटक रामेछापको मन्थली विमानस्थलबाट हवाई मार्ग प्रयोग गरेर सोलुखुम्बु जाने गरेका छन्। सडक विस्तारसँगै बसमार्फत यात्रा गर्नेहरू पनि सिधै सल्लेरी पुग्न थालेपछि बाम्तीभण्डार हुँदै जाने पुरानो पदमार्गको चहलपहल हराएको छ।
स्थानीय होटल व्यवसायी पासाङ तामाङका अनुसार पूर्वाधार विकास भए पनि पर्यटन व्यवसाय भने निरन्तर खस्किँदै गएको छ। उनका अनुसार सोलुखुम्बुसम्म सडक पुगेपछि पुरानो पदयात्रा मार्गको महत्त्व घटेको छ भने पछिल्लो पर्यटन सिजन अन्तर्राष्ट्रिय द्वन्द्वका कारणसमेत प्रभावित बनेको छ।
गाउँगाउँमा सडक पुगेपछि दैनिक उपभोग्य सामग्री स्थानीयस्तरमै उपलब्ध हुन थालेकाले किनमेलका लागि बाम्तीभण्डार आउने उपभोक्ताको संख्या घटेको छ। यसको असर होटल, पसल तथा अन्य साना व्यवसायमा परेको स्थानीयको भनाइ छ।
स्थानीयवासीले बाम्तीभण्डार बजारलाई पुनर्जीवित गर्न पर्यटनसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। देउराली-बाम्तीभण्डार सडक कालोपत्रे गर्ने र बाम्ती अस्पताललाई थप सुविधा सम्पन्न बनाउन सके यस क्षेत्रको आकर्षण बढ्ने उनीहरूको विश्वास छ।
एक समय खुम्बु क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित बाम्तीभण्डार अहिले विकासको नयाँ चरणमा पुगेको छ। पूर्वाधार विस्तारले सुविधा बढाए पनि त्यसले पुरानो व्यापारिक र पर्यटन गतिविधिलाई विस्थापित गरेको देखिन्छ। अब बाम्तीभण्डारको आर्थिक र पर्यटन भविष्य स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायको साझा योजनामा निर्भर रहने देखिएको छ।