प्रधानमन्त्रीले भरिया लगाएर जवाफ दिन मिल्दैन, आफैँले दिनुपर्छ : अर्जुननरसिंह केसी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
407
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र साहलाई इतिहासको गहिरो अध्ययन गरेर मात्रै अभिव्यक्ति दिन सुझाव दिएका छन्।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले प्रधानमन्त्रीको पछिल्लो सामाजिक सञ्जाल अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको जवाफ अरूमार्फत नभई स्वयं प्रधानमन्त्रीले दिनुपर्ने स्पष्ट पारे।
उनले प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि “भरिया लगाएर जवाफ दिन नमिल्ने” भन्दै आलोचना गरे।
केसीले भने, ‘प्रधानमन्त्रीमाथि प्रश्न उठेपछि भरिया लगाएर अर्कोले जवाफ दिन मिल्दैन। उहाँमाथि उठेको प्रश्नको जवाफ उहाँ आफैँले दिनुपर्छ। गल्ती भएको हो भने सच्याउनुपर्छ वा फिर्ता लिनुपर्छ। कुन मनसायले भनिएको हो भन्ने पनि उहाँ आफैँले स्पष्ट पार्नुपर्छ।’
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा यावत समस्याहरू ३५ वर्षयता मात्रै शुरू भएको जस्तो आशय व्यक्त गरेकोप्रति पनि उनले आपत्ति जनाए।
उनले भने, ‘प्रधानमन्त्रीको स्टाटस हेरेँ, त्यो वास्तविक हो कि होइन भन्ने नै स्पष्ट छैन। उहाँले ३५ वर्षयता मात्रै समस्या भएको भन्नुभएको छ। तर समस्या त्यतिमा मात्र सीमित छैन, इतिहास गहिरो छ। त्यसैले प्रधानमन्त्रीज्यूले इतिहास अध्ययन गरेर मात्रै टिप्पणी गर्नु उचित हुन्छ।’
केसीले संसदको गतिरोध अन्त्य गर्ने मुख्य जिम्मेवारी सरकारकै रहेको भन्दै त्यसका लागि सरकार गम्भीर पहलमा उत्रिनुपर्ने आवश्यकता पनि औंल्याए।