अर्थमन्त्री वाग्लेले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : राप्रपा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
351
Shares
काठमाडौँ। विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले करका दर हेरफेर प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बू ओलीले करका दर संशोधनको विषय गम्भीर भएकाले निष्पक्ष छानबिन नहुँदासम्म अर्थमन्त्रीले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताइन्।
उनले करका दरमा भएको हेरफेरबारे निष्पक्ष र विश्वसनीय छानबिन गरी सुशासनको मानक स्थापित गर्न सरकारको ध्यानाकर्षण गराइन्।
ओलीले भनिन्, ‘करका दरमा गरिएको संशोधनको विषय यति गम्भीर छ कि यसमा निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भएको छ। त्यसैले छानबिन प्रक्रिया पूरा नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गर्दै सुशासन, नैतिकता र निष्पक्षताको आधारमा आफ्नो जिम्मेवारीबाट अलग रहनुपर्छ।’
उनले अर्थमन्त्री वाग्लेलाई विगतमा आफूले नै उठाएका सुशासनका प्रश्नहरू स्मरण गराउँदै अहिले सत्तामा पुगेपछि कस्तो भूमिका खेल्ने भन्ने प्रश्नसमेत गरिन्।
ओलीले भनिन्, ‘अघिल्लो सरकारमा हुँदा यही सदनमा तपाईंले भन्नुभएको थियो, शंकरदास किन, तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्किने समिति बनाए भइहाल्यो नि। यो गम्भीर कुशासन र लुटको विषय हो, संगठित भ्रष्टाचारको कुरा हो। आज तपाईं सत्तापक्षमा हुनुहुन्छ, अब के गर्नुहुन्छ ? आज पनि सुनपानी छर्किने कि निष्पक्ष छानबिन गरेर सुशासनको मानक स्थापना गर्ने ?’
संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको विधेयकबीच करका दरमा फरक देखिएको विषय सार्वजनिक भएपछि अर्थमन्त्री वाग्लेमाथि चर्को आलोचना भइरहेको छ। विपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्।