प्रधानमन्त्रीले नेपाललाई सीमा मिच्ने देश प्रमाणित गर्न खोज्दै हुनुहुन्छ : कांग्रेस [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
226
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री वालेन्द्र साहले सीमासम्बन्धी आफ्नो विवादित अभिव्यक्ति सच्याउनुको सट्टा नेपालले भारतको भूमि अतिक्रमण गरेको पुष्टि गर्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमण गर्ने देश नभएको र त्यस्तो बन्न नसक्ने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको दाबी गरे।
राईले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै नागरिकसँग माफी माग्नुपर्ने माग गरे। साथै, उनले सभामुख डोलप्रसाद अर्यालसँग प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन र माफी माग्न निर्देशन दिने रुलिङ गर्न आग्रह गरे।
उनले भने, ‘नेपालले छिमेकी देश भारतको कुनै पनि भूमि वा सीमा मिचेको छैन। नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन। तर सम्माननीय प्रधानमन्त्रीले नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको पुष्टि गर्न खोजिरहनुभएको छ। सामाजिक सञ्जालमा उहाँका समर्थकहरूले समेत आधारहीन सामग्री सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजिरहेका छन्। यस्तो तहको राष्ट्रघात गर्न किन मन लाग्यो ?’
राईले विपक्षी दलहरू नेपाल भूमि अतिक्रमण गर्ने राष्ट्र नभएको तथ्य स्थापित गर्न प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्री स्वयं यस सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिको समीक्षा गर्दै माफी माग्नुपर्छ। यस विषयमा उहाँले नागरिकसमक्ष क्षमायाचना गर्नुपर्छ र सभामुखले पनि बिना हिचकिचाहट आवश्यक रुलिङ गर्नुपर्छ।’
सांसद राईले सरकार समर्थकहरूलाई समेत लक्षित गर्दै नेपालको हितविपरीत हुने गतिविधिलाई किन समर्थन गरिएको भन्दै प्रश्न उठाएका छन्।