प्रधानमन्त्री संसदमा नगएर बैठक अस्तव्यस्त, प्रवक्ता भन्छन् - जान कुनै अप्ठ्यारो छैन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
277
Shares
काठमाडौँ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र साहलाई संसदमा उपस्थित हुन कुनै अप्ठ्यारो नरहेको बताएका छन्।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने स्पष्ट पारे।
उनले यसअघि पनि प्रधानमन्त्री संसदमा गएको स्मरण गराउँदै विपक्षी दलसँग प्रधानमन्त्रीलाई सोध्ने उल्लेख्य प्रश्न नै नभएको दाबी गरे।
उनले भने, ‘प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो छैन। शुरूमा उहाँ संसदमा उपस्थित हुँदा उहाँलाई सोध्ने खासै प्रश्न थिएनन्। हामीले जति अपेक्षा गरेका थियौँ, त्यति प्रश्न आएनन्। आवश्यक ठान्नुभयो भने प्रधानमन्त्रीले फेरि पनि संसदमा सम्बोधन गर्नुहुन्छ।’
सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्।
प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको आरोपको पनि बचाउ गरेका छन्। अर्थमन्त्रीमाथि स्वार्थ समूहको प्रभावमा परेर करका दर हेरफेर गरेको आरोप लागेको छ।
पोखरेलले अर्थमन्त्रीले निकै मेहनत गरेर बजेट ल्याएको भन्दै सरकारको पूर्ण समर्थन रहेको बताए। उनले कर नीतिसम्बन्धी कुनै फेरबदलको विषय मन्त्रिपरिषद्मा नउठेको पनि जानकारी दिए।
उनले भने, ‘अर्थमन्त्रीज्यूले निकै मेहनत गरेर बजेट ल्याउनुभएको छ। त्यसमा हाम्रो पूर्ण समर्थन छ।’
आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई जानकारी नै नदिई करका दर हेरफेर गरिएको आरोप लागेपछि विवाद चर्किएको हो।
विपक्षी दलहरूले स्वार्थ समूहको मिलेमतोमा करका दर परिवर्तन गरिएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।