कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
155
Shares
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताए ।
सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालयभित्र के-कस्ता समस्या छन्, ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
विगतमा भएका काम, त्यसबाट प्राप्त नतिजा र हाल देखिएका चुनौतीको समीक्षा गर्दै समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको गुनासो आउने गरेको तर विनियोजन भएको बजेटसमेत अपेक्षाअनुसार खर्च हुन नसकेको उल्लेख गर्दै उनले त्यसको कारण पहिचान गर्न आवश्यक रहेको बताए ।
सरकारले चालु आर्थिक वर्षका लागि तय गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयनमा सबै निकायले आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
मन्त्रालय र मातहतका निकायका कर्मचारीले केवल नियमित जागिर खाने मानसिकताभन्दा माथि उठेर राष्ट्र निर्माणको अभियानमा योगदान दिनुपर्ने बताउँदै सञ्चारमन्त्री तिमिल्सिनाले राष्ट्रसेवक कर्मचारीले नागरिकको सेवकका रूपमा काम गर्नुपर्ने बताए ।
सञ्चारमन्त्री तिमिल्सिनाले अन्तरनिकाय समन्वय र सहकार्यको अभावका कारण कतिपय कार्यक्रम प्रभावित भएको उल्लेख गरे ।
सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी नागरिकको घरदैलोमै सेवा पुर्याउने लक्ष्यसहित काम गरिरहेको भए पनि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए ।