arrow
ADVERTISEMENT

विश्वकप फुटबल समूह एच: स्पेन, रुउग्वे र साउदीसँग ‘डेब्यु’ गर्दै केप भर्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
world-cup-2026-trophy.jpg

काठमाडौँ । युरोपियन च्याम्पियन स्पेन र दक्षिण अमेरिकी महारथी उरुग्वेको उपस्थितिले आसन्न विश्वकपको समूह ‘एच’लाई रोमाञ्चक बनाएको छ, जहाँ यी दुवै फुटबल शक्तिले चार वर्षअघि लियोनल मेस्सीको अर्जेन्टिनालाई स्तब्ध पारेको साउदी अरेबियाको चुनौती पार लगाउनुपर्नेछ।

त्यस्तै अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो मञ्चमा पहिलो पटक सहभागी हुँदै गरेको केप भर्डेको चुनौती पनि समूहमा समेटिएको छ।

समूहका अधिकांश खेल अमेरिकामै हुनेछन्। तर एकमात्र खेल भने अमेरिका बाहिर हुनेछ, जुन उरुग्वे र स्पेनबीच जुन २६ मा मेक्सिकोको ग्वाडालाजारामा हुने तय गरिएको छ।

यी दुई टोलीबीच विश्वकपमा यसअघि दुई पटक भेट भएको छ। सन् १९५० मा फाइनल राउन्डमा भएको भेट २-२ को बराबरीमा सकिएको थियो, जसमा राउन्ड रोबिन प्रणालीअन्तर्गत उरुग्वेले उपाधि जितेको थियो भने स्पेन चौथो स्थानमा सीमित भएको थियो। सन् १९९० मा समूह ‘ई’मा परेको अवस्थामा भएको अर्को भेट गोलरहित बराबरीमा टुंगिएको थियो।

स्पेनका बाँकी दुई खेल एट्लान्टामा हुनेछन् भने उरुग्वेका अन्य दुई खेल मियामीमा आयोजना हुने तय छ। केप भर्डे र साउदी अरेबियाबीचको खेल भने ह्युस्टनमा हुनेछ।

चार वर्षअघि कतार विश्वकपमा मोरक्कोसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको स्पेनले त्यसपछि उल्लेखनीय पुनरागमन गरेको छ। टोलीले सन् २०२४ को युरोपियन च्याम्पियनशिप जितेको थियो भने २०२३ को नेशन्स लिगको उपाधि पनि आफ्नो नाममा लेखाएको थियो। २०२५ को नेशन्स लिगमा भने स्पेन उपविजेता बनेको थियो।

यता, पाँच लाख जनसंख्या मात्र रहेको केप भर्डे विश्वकपमा सहभागी देशहरूमध्ये भूगोलका आधारमा तेस्रो सानो राष्ट्र हो। उसभन्दा साना देशमा आइसल्यान्ड र कुराकाओ मात्र रहेका छन्।

साउदी अरेबिया भने लगातार तेस्रो विश्वकपमा सहभागी हुँदैछ। चार वर्षअघि कतारमा समूह चरणमै लियोनेल मेस्सीको अर्जेन्टिनालाई २–१ ले हराएर विश्व फुटबलमा सनसनी मच्चाएको साउदीले पछिल्ला वर्षमा फुटबलमा ठूलो लगानी गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति मजबुत बनाउन खोजिरहेको छ।

दक्षिण अमेरिकी छनोटमा उरुग्वेले अर्जेन्टिना, इक्वेडर र कोलम्बियापछि चौथो स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको हो। पाँच पटकको च्याम्पियन ब्राजिलभन्दा पनि माथिल्लो स्थानमा रहँदै छनोट भएको उरुग्वे चार वर्षअघि कतारमा भने समूह चरणबाटै बाहिरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ