arrow
ADVERTISEMENT

संकटमा तेहरान-वासिङ्टन कूटनीतिक संवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
usa-flag-iran-flag-may-2026.jpeg

काठमाडौँ । इरानको परराष्ट्र मन्त्रालयले पछिल्लो २४ घण्टामा विकसित भएका घटनाक्रमले तेहरान र वासिङ्टनबिच द्वन्द्व अन्त्यका लागि भइरहेको कूटनीतिक प्रक्रियालाई थप अस्तव्यस्त बनाएको बताएको छ। 

मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै दक्षिण लेबनान र बेरुतको दहियाह जिल्लामा इजरायली आक्रमणको प्रतिशोधस्वरूप इरानको 'इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स' (आईआरजीसी) ले गरेको मिसाइल प्रहारपछिको परिस्थितिको चर्चा गर्दै यस्तो धारणा राखेका हुन्। 

उनले पछिल्ला हप्ताहरूमा संयुक्त राज्य अमेरिकाको विरोधाभासपूर्ण भनाइ र व्यवहारले कूटनीतिक प्रक्रियामा गम्भीर अन्योल सिर्जना गरेको आरोपसमेत लगाए।

प्रवक्ता बाघेईले इरानको राष्ट्रिय स्वार्थ र सुरक्षाका लागि आवश्यक परेको खण्डमा सैन्य कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेका छन्। यद्यपि, उनले यति ठुलो सैन्य तनावका बिच पनि इरान र संयुक्त राज्य अमेरिकाबिक सन्देश आदानप्रदानको क्रम भने निरन्तर जारी रहेको जानकारी दिए। 

यसैबीच आईआरजीसीले आइतबार लेबनानमा इजरायलले गरेको व्यापक अपराधको जवाफमा उत्तरी इजरायलमा रहेको 'रमत डेभिड एयर बेस' लाई निशाना बनाएको जनाएको छ भने अर्कोतर्फ इजरायली सेनाले इरानको दक्षिण–पश्चिमी प्रान्त खुजेस्तानमा रहेको एउटा पेट्रोकेमिकल कम्पनीसहित विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ।

क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप आइतबार साँझ इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र इराकी विदेशमन्त्री फुआद हुसेनबिच आकस्मिक टेलिफोन वार्तासमेत भएको छ। वार्ताका क्रममा उनीहरूले क्षेत्रीय स्थिरता अभिवृद्धि गर्न र युद्ध रोक्नका लागि कूटनीतिक प्रयासहरूलाई तीव्र बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। दुवै देशका विदेशमन्त्रीहरूले इरान र अमेरिकाबिच भइरहेको संवाद र यसको सम्भावनाबारे समेत गहन छलफल गर्दै आगामी दिनमा क्षेत्रीय विकासका मुद्दाहरूमा निरन्तर समन्वय र सहकार्य कायम राख्ने सहमति व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ