हुथी विद्रोहीले जाफामा गरे क्षेप्यास्त्र प्रहार, 'रेड सी'मा इजरायली जहाजहरूलाई पूर्ण प्रतिबन्ध
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
364
Shares
काठमाडौँ । यमनको विद्रोही समूह हुथीले इजरायलको जाफा क्षेत्रमा रहेका संवेदनशील स्थानहरूलाई लक्षित गरी शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ।
यस कडा सैन्य कदमसँगै हुथीले व्यापारिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने लाल सागर (रेड सी) मा इजरायलसँग सम्बन्धित सबै प्रकारका जहाजहरूको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने घोषणासमेत गरेको छ।
हुथीका सैन्य प्रवक्ता याह्या सारियाले एक टेलिभिजन सम्बोधनमार्फत आफ्ना बलहरूले जाफा क्षेत्रका विभिन्न रणनीतिक लक्ष्यहरूमा सफल आक्रमण गरेको र उक्त सैन्य कारबाहीले निर्धारित उद्देश्य प्राप्त गरेको दाबी गरे।
प्रवक्ता सारियाले लाल सागर (रेड सी )मा इजरायली समुद्री मार्गको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गर्दै अबका दिनमा इजरायलको स्वामित्व भएका, इजरायलतर्फ जाँदै गरेका वा इजरायलसँग कुनै पनि रूपमा सम्बन्धित जुनसुकै जहाजलाई 'वैध सैन्य लक्ष्य' मानिने चेतावनी दिए। उनले हुथी समूहले आक्रमणको बदला आक्रमणबाटै दिने स्पष्ट पार्दै आफ्ना आगामी सैन्य कारबाहीहरूलाई अझ सशक्त र व्यापक बनाउने सङ्केत गरे।
तनाव अन्त्यका लागि हुथीको सर्त: हुथी समूहले यमन र यस क्षेत्रका आफ्ना सहयोगी समूहहरूमाथि भइरहेको सैन्य आक्रमण तथा आर्थिक नाकाबन्दी पूर्ण रूपमा अन्त्य नभएसम्म आफ्ना सैन्य गतिविधिहरू जारी रहने स्पष्ट पारेको छ। गाजा र मध्यपूर्वमा क्षेत्रीय तनाव चरम सीमामा पुगेका बेला हुथीको यो पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको सुरक्षामा थप गम्भीर चुनौती थपिदिएको छ।