काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेको समयसीमालाई अन्तिम म्यादका रूपमा कायम गरेको छ ।
समितिको बैठकले आगामी १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने निर्णय गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ ।
महामन्त्री तथा समिति संयोजक प्रदीप पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
समितिका अनुसार २५ गते साँझ ५ बजेसम्म अद्यावधिक गर्न योग्य सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये चार लाख १७ हजार ७५३ जनाले प्राप्त गरिसकेका छन् भने ९८ हजार १४३ जनाले स्वयं अद्यावधिक फाराम पेश गरी प्रक्रिया अगाडि बढाएका छन् ।
बैठकले आगामी महाधिवेशनमा सहभागी हुन प्रत्येक क्रियाशील सदस्यको विशिष्ट पहिचान नम्बरलाई प्रमुख आधार बनाइने निर्णय गरेको छ ।
यसका लागि पार्टीको डिजिटल प्रणालीमार्फत सदस्यहरूको अभिलेख अद्यावधिक गरी एकीकृत डिजिटल सदस्यता प्रणाली लागू गरिने भएको छ ।
सदस्यता अद्यावधिकका क्रममा कुनै प्राविधिक समस्या आएमा पार्टीको आधिकारिक डिजिटल प्लेटफर्ममा उपलब्ध सम्पर्क नम्बरमार्फत सहजीकरण गरिने व्यवस्था गरिएको छ ।
विधानअनुसार सदस्यता अद्यावधिक गर्न चाहने कुनै पनि योग्य सदस्यलाई प्रक्रियाबाट वञ्चित नगरिने र अवरोध भएमा केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गरेर अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
बैठकले अनुशासन समितिबाट कारबाहीमा परेका कांग्रेस परित्याग गरी अन्य दलमा प्रवेश गरेका तथा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेद्वारी दिएका वा अन्य दलका उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका व्यक्तिहरूको सदस्यता प्रमाणका आधारमा केन्द्रीय अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।