arrow

युद्धग्रस्त लेबनानलाई छ महिनामा ६४ करोड डलर सहयोग आवश्यकः राष्ट्र सङ्घ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
iran-israel-lebanon-war-26-3-3.jpg
तस्बिर : फाइल

जेनेभा । इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक रहेको बताएको छ।
 
मध्यपूर्वमा भएको युद्धको तीन महिनापछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिँदै भनेको छ, “लेबनानमा ‘मानवीय विपत्ति’ नजिक रहेको छ र एक चौथाइ जनसङ्ख्यालाई सहयोगको आवश्यकता छ।”

“लेबनानका लागि राष्ट्रसङ्घका आवासीय मानवीय समन्वयक इमरान रिजाले बेरुतबाट पत्रकारहरूसँग भने, “युद्धको वृद्धिका कारण लेबनानका समुदायहरूले डरलाग्दो अवस्थाको सामना गर्नुपरेको छ।”
 
उनले भने, “हिजबुल्लाहले मार्च २ मा लेबनानलाई व्यापक मध्यपूर्व युद्धमा तानेपछि लेबनानमा भएको इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र १० हजारभन्दा बढी घाइते भएका छन् ।”
 
“हामीले धेरै हताहती, व्यापक र बारम्बार विस्थापन, आवास र आधारभूत सेवाका पूर्वाधारहरूको विनाश र दूरगामी मनोवैज्ञानिक आघात देखेका छौँ,” उनले भने । उनले थपे, “विस्थापित र मानवीय सहयोगको याचना गर्ने नागरिकहरूको सङ्ख्या चिन्ताजनक छ र दिन प्रतिदिन खराब हुँदै गइरहेको छ।”
 
संयुक्त राष्ट्रसङ्घले गत मार्चमा लेबनान सरकारको नेतृत्वमा मेको अन्त्यसम्म ठूलो सङ्कटकालीन कार्यका लागि तीन करोड ८० लाख डलर सहयोग गर्न अपील गरेको थियो ।

शुक्रबार सहयोगको लागि रकम थप गर्दै भनेको छ,“अगस्टको अन्त्यसम्म थप तीन करोड ३१ लाख अमेरिकी डलर आवश्यक हुनेछ।”
 
“पटक–पटक विस्थापन, अपर्याप्त आवास क्षमता र सुरक्षित फिर्तीको सीमित सम्भावनाले जोखिमलाई अझ गहिरो बनाइरहेको छ”, अपीलमा भनिएको छ, “प्रभावित व्यक्तिहरूले आफ्नो सामना गर्ने क्षमता द्रुत रूपमा समाप्त गरिरहेका छन्, र अत्यावश्यक सेवाहरूले बढ्दो तनावको सामना गरिरहेका छन् ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ