'साइलेन्ट किलर' उच्च रक्तचाप: भ्रम, यथार्थ र बच्ने उपायहरू
डा मिलनप्रकाश श्रेष्ठ,
प्रकाशित २०८३ जेठ ४ सोमबार
673
Shares
काठमाडौँ । उच्च रक्तचाप (हाइपरटेन्सन) सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक असरबारे मानिसमा पर्याप्त जानकारी नभएकाले यसलाई खासै महत्त्व दिएको पाइँदैन। यसले गर्ने क्षति प्रत्यक्ष भोगेका वा देखेकाहरूले मात्र उच्च रक्तचापको गम्भीरतालाई आत्मसात् गरेका हुन्छन्। समाजमा उच्च रक्तचाप र यसको औषधिलाई लिएर अनेकौँ भ्रम र यथार्थहरू रहेका छन् । जसलाई बेलैमा बुझ्नु जीवन रक्षाका लागि अनिवार्य छ।
उच्च रक्तचाप भएका सबै बिरामीमा लक्षण देखिनैपर्छ भन्ने हुँदैन। कसैलाई सिस्टोलिक रक्तचाप १५० एमएमएचजी पुग्नासाथ टाउको दुख्ने र रिँगटा लाग्ने हुन्छ भने, कोहीकोहीमा यो दर २५० एमएमएचजी पुग्दा पनि कुनै लक्षण देखिँदैन। यस्तो अवस्थामा लक्षण नदेखिनु झन् बढी खतरनाक हुन्छ किनभने मानिसले आफूलाई स्वस्थ ठान्छन्, तर भित्रभित्रै उच्च रक्तचापले मुटु, मिर्गौला, आँखा र मस्तिष्कमा क्षति पुर्याइरहेको हुन्छ। कतिपय बिरामीहरू त कुनै पूर्वलक्षण बिना नै पहिलो पटक सिधै हृदयाघात वा मस्तिष्कघात भएर अस्पताल आइपुग्छन्। त्यसैले भविष्यमा हुनसक्ने यस्ता ठूला क्षतिबाट बच्नका लागि लक्षण नदेखिए पनि नियमित परीक्षण र आवश्यक परेमा औषधि सेवन गर्नु अनिवार्य हुन्छ।
उच्च रक्तचापले गर्नसक्ने खतराबारे आवश्यक ज्ञान नभएकाले धेरै मानिस औषधि सुरु गर्न हिच्किचाउँछन्। यदि रक्तचाप धेरै उच्च छैन र अङ्गहरूमा क्षति पुगिसकेको छैन भने सुरुमा केही महिना खानपान सुधार, व्यायाम र जीवनशैली परिवर्तन गरेर हेर्न सकिन्छ। तर यी उपायहरू अपनाउँदा पनि रक्तचाप नियन्त्रण नभएमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन। औषधिको मुख्य काम रक्तचापलाई नियन्त्रणभित्र राखेर अन्य अङ्गहरूलाई सुरक्षित राख्नु हो। नियमित औषधि सँगै चिकित्सकको सल्लाहबमोजिम खानामा परहेज र नियमित व्यायाम गर्दै गएमा कुनै समय रक्तचाप घट्दै जान सक्छ र चिकित्सकको परामर्शमा औषधिको मात्रा कम गर्न वा औषधि नै बन्द गर्न पनि सकिन्छ।
यसैगरी, औषधि खाएपछि साइड–इफेक्ट गरिहाल्छ भन्ने ठूलो भ्रम समाजमा व्याप्त छ। सबै औषधिका आफ्नै किसिमका साइड–इफेक्टहरू हुन्छन् र उच्च रक्तचापका औषधिले पनि कसैलाई खुट्टा सुन्निने, मुटुको ढुकढुकी परिवर्तन हुने, सुक्खा खोकी लाग्ने, स्वाँ–स्वाँ हुने वा यौन इच्छामा कमी आउने जस्ता समस्या गराउन सक्छन्। तर, यी साइड–इफेक्टहरू सधैँ सबैलाई हुने सम्भावना मात्रै हो, हुन्छ नै भन्ने होइन। डाक्टरको सम्पर्कमा बसेर नियमित चेकजाँच गरिरहेमा साइड–इफेक्टहरू सुरुवातमै पत्ता लाग्छन् र औषधि अदलबदल गरेर क्षतिबाट बच्न सकिन्छ। साइड–इफेक्टको डरले औषधि नै नखाई सधैँ उच्च रक्तचाप लिएर बस्दा प्यारालाइसिस, हृदयाघात हुने, मिर्गौला कामै नलाग्ने हुने र आँखाको ज्योति गुम्ने जस्ता भयानक असरहरू हुन सक्छन्, जसको तुलनामा औषधिको साइड–इफेक्टहरू केही पनि होइनन्।
विशेषगरी घरमा एक्लै बस्ने, कम पढेलेखेका वा उमेर ढल्केका बिरामीहरूले एउटाभन्दा धेरै गोली खानुपर्दा औषधि सेवनमा धेरै गल्ती गर्ने गरेको पाइन्छ। झुक्किएर एउटा खानुपर्नेमा दुई पटक खाने, रातिको बिहान खाने वा औषधि सकिएपछि ल्याइदिने मान्छे नभएको बहानामा औषधि नै बन्द गरिदिने समस्या देखिन्छ। यसले गर्दा रक्तचाप अचानक अनियन्त्रित भई बिरामीहरू सिधै पक्षघात वा हृदयाघातको अवस्थामा पुग्छन्। यस्तो अवस्थामा घरका पढेलेखेका सदस्यहरूको ठूलो जिम्मेवारी हुन्छ। बिरामीलाई झुक्किनबाट जोगाउन हरेक औषधिलाई छुट्टाछुट्टै सानो बट्टामा समय र रङ अनुसार छुट्याएर राखिदिँदा यस्ता गल्तीहरू कम हुन्छन्। साथै, धूम्रपान र मदिरा जस्ता व्यसनले रक्तचाप नियन्त्रण गर्न झन् कठिन बनाउने भएकाले उच्च रक्तचापका बिरामीले कुनै पनि नशा सेवन गर्नु हुँदैन।
स्वस्थ जीवनका लागि मानसिक तनावको व्यवस्थापन एकदमै महत्त्वपूर्ण मानिन्छ। अत्यधिक तनावमा काम गर्ने, ढिलो सुत्ने र पर्याप्त निद्रा नपुग्ने व्यक्तिहरूमा व्यस्त कार्यशैली, आरामको कमी, शारीरिक व्यायामको अभाव र अव्यवस्थित खानपानका कारण उच्च रक्तचाप र मधुमेहको समस्या देखापर्दछ, जसले पछि गएर हृदयाघात र पक्षघात जस्ता भयानक समस्या भोग्नुपर्दछ। कतिपय बिरामीहरू औषधि खानुको साटो करेला, मेथी, निमको पात वा योग र ध्यानले मात्रै प्रेसर ठिक पार्छु भनेर अड्डी कस्छन्। यस्ता प्राकृतिक उपायहरू गर्नु राम्रो भए पनि यति गर्दा पनि रक्तचाप नियन्त्रणमा आएन भने औषधि खानैपर्छ। त्यस्तै, अचेल इन्टरनेट वा गुगलमा रोगका बारेमा पढेर प्राविधिक शब्दहरू प्रस्ट नबुझी अनुमानकै भरमा आफैँलाई ज्यादै रोगी ठान्ने र निराशावादी सोचको सिकार बन्ने प्रवृत्ति पनि बढेको छ, जुन स्वास्थ्यका लागि घातक हो।
उच्च रक्तचापको नकारात्मक असरहरूबाट बच्न मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुन जरुरी छ। साधारणतया उमेर ४० वर्षको वरिपरि पुगेपछि धेरै रोगले छुने सम्भावना बढ्ने भएकाले भविष्यमा स्वस्थ र लामो समय बाँच्नका लागि दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट पूर्ण रूपमा त्याग्ने, नियमित शारीरिक व्यायाम गर्ने र मानसिक तनावबाट टाढा रहने जस्ता नियमहरू अनिवार्य पाना गर्नैपर्छ।
(लेखक: वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्रेष्ठ, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।)