काठमाडौँ । आज मे १७ तारिखका दिन नेपालसहित विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी ‘विश्व उच्च रक्तचाप दिवस’ मनाइँदैछ। आधुनिक जीवनशैली र तनावका कारण विश्वव्यापी रूपमा गम्भीर स्वास्थ्य समस्याका रूपमा देखा परिरहेको उच्च रक्तचाप (हाइपरटेन्सन) बारे नागरिकमा चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
यस विशेष अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायहरूका साथै स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूले देशभरि नै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दैछन्। विशेष गरी सहरी क्षेत्र र बदलिँदो खानपानका कारण युवा उमेरमै उच्च रक्तचापको जोखिम बढ्दै गएकाले समयमै परीक्षण गर्ने र स्वास्थ्य सजगता अपनाउने सन्देश यी कार्यक्रमहरू मार्फत दिन खोजिएको छ।
विश्वमा पहिलोपटक सन् २००५ देखि यो दिवस मनाउन सुरु गरिएको हो। 'मौन हत्यारा' (साइलेन्ट किलर) का रूपमा चिनिने उच्च रक्तचापले हृदयाघात, मष्तिस्कघात र मिर्गौला फेल हुने जस्ता घातक समस्या निम्त्याउने भएकाले यसको रोकथाम र नियन्त्रणका लागि विश्वभर नै सरकार तथा स्वास्थ्य संस्थाहरूले विशेष जोड दिँदै आएका छन्।