arrow

नर्स बन्न केवल पढाई पूरा गर्नु पर्याप्त हुँदैन, संवेदनशील मन आवश्यक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
nurse-nepal.jpg

काठमाडौँ । नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ ।

निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो संख्यामा नेपाली नर्सहरू विदेश पलायन भइरहेका छन् ।

कम तलब, कामको उच्च दबाब, सीमित सेवासुविधा र भविष्यप्रतिको असुरक्षाका कारण धेरै नर्स विदेशतर्फ आकर्षित भएका छन् । यद्यपि, देशभर नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या भने बढ्दो अवस्थामा छ ।

काठमाडौँ क्यान्सर सेन्टरकी नर्स मेट्रोन निस्ता खत्रीले नर्सिङ पेशा केवल जागिर नभइ सेवाभावसँग जोडिएको पेशा भएको बताइन् । उनले बिरामीको पीडालाई आफ्नै पीडा ठानेर काम गर्नसक्ने भावना नभएसम्म सफल नर्स बन्न कठिन हुने बताइन् ।

उनले पछिल्लो समय नेपालमा नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढिरहेको उल्लेख गर्दै देशभित्र मात्र नभइ विदेशमा पनि नेपाली नर्सहरूको माग उच्च रहेको बताइन् ।

खत्रीका अनुसार नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, त्यसका लागि संवेदनशील मन आवश्यक पर्छ । ‘बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झन सक्नुपर्छ । बिरामीको घाउ, पीडा, मानसिक अवस्था र आर्थिक समस्यालाई बुझेर सेवा गर्न सक्ने व्यक्ति मात्रै असल नर्स बन्न सक्छ,’ उनले भनिन् ।

उनले नर्सिङ क्षेत्रमा महिलाको मात्रै सहभागिता भन्ने पुरानो सोच अझै समाजमा रहेको बताइन्। तर पछिल्ला वर्षहरूमा पुरुष नर्सको संख्या पनि विस्तारै बढिरहेको उनको भनाइ छ ।

‘पहिले नर्सिङलाई महिलाले मात्र पढ्ने विषय मानिन्थ्यो। अहिले पुरुषहरू पनि नर्सिङ पढिरहेका छन् । विदेशमा नेपाली पुरुष नर्सहरूले राम्रो अवसर पाएका छन्’, उनले भनिन्,‘शुरूमा के भयो भनेदेखि नर्सिङ भन्ने बित्तिकै सबै अब केटीले नै पढ्ने विषय भन्ने भयो । वर्तमान समयमा चाँही हेर्नुहुन्छ भने मेल नर्स नभएको होइन अझैपनि एउटा ब्याचमा दुई–तीन मेल नर्सहरु छन् । नेपालमा मात्रै चेतनाको कमीले पुरुष नर्स कम देखिएका हुन् ।’

खत्रीले अहिले नेपालका अस्पतालहरूमा नर्स अभाव गम्भीर बन्दै गएको बताइन् । उनले भनिन्, ‘धेरै अस्पतालमा दक्ष नर्स पाउन गाह्रो भइरहेको छ । हाम्रो अस्पताल मात्रै होइन, अन्य अस्पतालमा पनि यही समस्या छ ।’

उनका अनुसार कम तलब, सुविधा अभाव र कामको उच्च दबाबका कारण धेरै नर्स विदेश जान बाध्य भइरहेका छन् ।

उनले नर्सहरूले पछिल्लो समय गरेको आन्दोलनको मुख्य कारण पनि उचित पारिश्रमिक भएको जानकारी दिइन् ।

उनले भनिन्,‘अहिले नर्स पाउन धेरै नै गाह्रो भइरहेको छ। हाम्रै हस्पिटलमा अथवा अन्य कुनै हस्पिटलहरूमा पनि नर्सहरू पाउन गार्हो छ । किनकी नर्सहरुले राम्रो तलब, सुविधा जस्ता कुराहरु कम भएका कारणले गर्दा आन्दोलनहरु पनि हुने गरेका छन् । जति मेहेनत वा जति काम गर्नुहुन्छ, सो अनुसार पारिश्रमिक नभएको कारणले गर्दा सबै नर्सहरू सडकमा उत्रिनु परेको छ ।’

यसमा थप्दै उनले भनिन्, ‘नर्सहरूले दिनरात नभनी काम गर्छन् । आठ घण्टादेखि १२ घण्टासम्म ड्युटी गर्नुपर्छ । बिरामीको अवस्था हेरेर कहिलेकाहीँ आफ्नो आराम र खाना समेत छाड्नुपर्छ।’

उनका अनुसार सरकारले तोकेको सेवा-सुविधा सबै निजी अस्पतालले पूर्ण रूपमा कार्यान्वयन नगर्दा नर्सहरू असन्तुष्ट हुने गरेका छन् ।

‘सरकारले तलब, नाइट अलाउन्स, हाजार्ड भत्ता लगायतका व्यवस्था गरेको छ । तर सबै संस्थाले प्रभावकारी रूपमा लागू गरेका छैनन् । जहाँ लागू भएको छ, त्यहाँ कर्मचारी केही सन्तुष्ट छन्,’ उनले सुनाइन् ।

नर्स खत्रीले हाल नेपालमा नर्सिङ क्षेत्रमा रोजगारीको अवसर प्रशस्त रहेको पनि उल्लेख गरिन् । तर अवसर भएपनि भविष्य सुरक्षित गर्ने चाहनाले धेरै नर्स विदेशतर्फ आकर्षित भइरहेको उनको धारणा छ ।

अहिले धेरै अस्पतालमा नर्सको माग छ। राम्रोसँग खोज्ने हो भने सजिलै जागिर पाइन्छ,’ उनले भनिन्।

उनका अनुसार दुबई, कतार, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा नेपाली नर्सहरूको आकर्षण बढ्दो छ । यही कारणले नेपालमा दक्ष नर्सको अभाव बढ्दै गएको उनको विश्लेषण छ ।

नर्स अभावले अस्पतालको सेवा गुणस्तरमा समेत असर पर्ने समेत उनको चिन्ता छ । अस्पतालमा कर्मचारी स्थिर नभएर बारम्बार परिवर्तन भइरहँदा सेवाको गुणस्तरमा असर पर्न सक्ने र नयाँ नर्सलाई काम सिकाउन समय लाग्छ उनको भनाइ छ ।

यद्यपि, नर्सिङ पढ्ने विद्यार्थीको संख्या भने अझै धेरै रहेको उनले बताइन् । ‘विद्यार्थीहरू नर्सिङ पढ्न उत्साहित छन् । धेरैले विदेश जाने लक्ष्यसहित पनि पढिरहेका छन्,’ उनले भनिन्।

अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा सम्पूर्ण नर्सहरूलाई शुभकामना दिँदै खत्रीले नर्सिङ पेशाप्रति गर्व लागेको बताइन् ।

उनले भनिन्,‘हाम्रो यस्तो पेशा हो, जहाँ हामी बिरामीको पीडालाई आफ्नै पीडा सम्झेर काम गर्छौँ । बिरामीलाई खुशी बनाउन, पीडा कम गर्न र सेवा दिन दिनरात खटिरहेका हुन्छौं,’ उनले भनिन् ।

उनले सबै नर्सहरूलाई सेवाभावका साथ कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरिन् ।

 काठमाडौँ क्यान्सर सेन्टरमा विगत चार वर्षदेखि कार्यरत नर्स सरु खाइजूले पनि नर्सिङ पेशाबारे बोल्दै नर्सिङ सेवा र जिम्मेवारी दुवै भएको बताइन् ।

घर र काम दुवैलाई सन्तुलनमा राख्न चुनौती भएपनि नर्सहरूले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

‘हामी आफैं इन्डीपेन्डेन्ट हौँ भनेर यो पेशामा आएका हुन्छौँ, तर कामको दबाब र पारिश्रमिकले कहिले काहिँ कठिन बनाउँछ,’उनले भनिन्।

उनका अनुसार लामो ड्यूटी, डबल सिफ्ट र ओभरटाइमका कारण नर्सहरूलाई व्यक्तिगत जीवन र परिवारलाई समय दिन कठिनाइ हुने गर्छ । विशेषगरी साना बच्चा भएका महिला नर्सहरूलाई अझ बढी चुनौती हुने उनले बताइन् ।

खाइजूले नर्सहरूको सेवा र मेहनतअनुसार तलब तथा सुविधा सुधार गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्,‘सरकार र सम्बन्धित निकायले हाम्रो कामअनुसार उचित पारिश्रमिक र सुविधा दिनुपर्छ ।’

उनले धेरै नर्सहरू विदेश जाने सोचमा रहेको उल्लेख गर्दै आफू भने नेपालमै बस्ने चाहना भएपनि अवसर र अवस्थाले प्रभाव पार्ने बताइन् ।

‘नेपालमै राम्रो अवसर र सुविधा भए यहाँ बस्न मन छ, तर अहिलेको अवस्थामा विदेश जाने सोच धेरैमा आउँछ,’ उनले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ