शपथभन्दा बाहिरका भावनात्मक र राजनीतिक कुराहरू बोल्न थालेपछि रोके राज्यपालले
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
965
Shares
काठमाडौँ । दक्षिण भारतीय चलचित्रका सुपरस्टार तथा तमिलागा वेत्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले तमिलनाडुको नवौँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। चेन्नईमा आयोजित भव्य समारोहका बीच उनले आफ्नो मातृभाषा तमिलमा शपथ लिँदै राज्यको शासन सत्ताको बागडोर सम्हालेका हुन्। समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको उपस्थिति रहेको थियो ।
शपथ ग्रहणका क्रममा एक रोचक र केही विवादास्पद दृश्य समेत देखिएको थियो। शपथ लिने क्रममा विजयले निर्धारित शपथको संवैधानिक पाठभन्दा बाहिरका भावनात्मक र राजनीतिक कुराहरू बोल्न थालेपछि राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले उनलाई तत्कालै रोकेका थिए। राज्यपालले उनलाई केवल लेखेर दिइएको औपचारिक शपथ मात्र वाचन गर्न निर्देशन दिएपछि विजयले पुनः निर्धारित पाठ नै पढेर शपथ प्रक्रिया पूरा गरेका थिए।
विजयसँगै उनको नयाँ मन्त्रिमण्डलमा ९ जना मन्त्रीहरूले पनि पदको शपथ लिएका छन्। मन्त्रिमण्डलमा एन. आनन्द, आधव अर्जुन, डा. केजी अरुणराज, केए सेङ्गोेट्टैयन, पी. वेन्कटरमणन, आर. निर्मलकुमार, राजमोहन, डा. टीके प्रभु र सेल्वी एस. कीर्तना सामेल भएका छन्। यी सबै मन्त्रीहरू विजयकै पार्टी टीभीके का विधायकहरू हुन् । हालको पहिलो मन्त्रिमण्डलमा कुनै पनि सहयोगी दलका सदस्यहरूलाई स्थान दिइएको छैन।
झन्डै ६० वर्षदेखि द्रविड दलहरूको वर्चस्व रहेको तमिलनाडुमा गैर-द्रविड पृष्ठभूमिको दलले सरकार बनाउनुलाई राज्यको राजनीतिमा एक ऐतिहासिक मोड र नयाँ अध्यायको सुरुवातका रूपमा हेरिएको छ।