विजय थलापतीको मुख्यमन्त्री बन्ने बाटो खुल्यो, १२१ विधायकको समर्थनसहित दाबी पेस
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
1.1k
Shares
काठमाडौँ । तमिलनाडुमा नयाँ सरकार गठनलाई लिएर जारी अन्योल अन्ततः समाप्त भएको छ। तमिलगा वेत्री कडगम (टीभीके) पार्टीका प्रमुख तथा अभिनेता विजय थलापतीले शनिबार राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरलाई १२१ विधायकहरूको समर्थन पत्र बुझाएका छन्। यससँगै राज्यमा विजयको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ।
मे ४ मा सार्वजनिक भएको चुनावी नतिजामा विजयको पार्टी (टीभीके) ले सबैभन्दा बढी १०८ सिट जितेको थियो। तर बहुमतका लागि आवश्यक ११८ सिट पुर्याउन १० सिटको अभाव थियो।
सिट सङ्ख्या नपुगेकै कारण विजयले यसअघि बुधबार, बिहीबार र शुक्रबार पनि राज्यपाललाई भेटेका थिए । तर स्पष्ट बहुमत नभएकाले राज्यपालले उनलाई नियुक्त गर्न अस्वीकार गर्दै आएका थिए।
शनिबार निर्णायक मोड तब आयो जब भीसीके र आईयूएमएल पार्टीले विजयलाई समर्थन गर्ने निर्णय गरे। यी दुई दलको समर्थन थपिएपछि विजयसँग अब १२१ विधायकको साथ पुगेको छ।
यसअघि नै कांग्रेस, सीपीआई र सीपीआई(एम) ले विजयलाई समर्थन दिइसकेका थिए।
बहुमतको आँकडा पार गरेसँगै अब तमिलनाडुमा अभिनेता विजयको मुख्यमन्त्री बन्ने बाटो औपचारिक रूपमा खुलेको छ। सम्भवतः छिट्टै नै उनको शपथ ग्रहण कार्यक्रम तय हुनेछ।