काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने महान् पर्व उभौली आज देशभरका भूमेस्थानहरूमा पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ।
बालीनाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा खेतीपाती राम्रो होस् र काममा सफलता मिलोस् भनी प्रकृतिको पूजा गर्ने यो प्राचीन परम्परा हो। गर्मी बढ्न थालेपछि यो समुदायका मानिसहरू, चराचुरुङ्गी, जङ्गली जनावर र नदीका माछाहरू समेत गर्मी छल्न बेँसीबाट लेकतिर अर्थात् उँभो लाग्ने भएकाले यस पर्वको नाम उभौली रहन गएको हो। उँभो लाग्नुको अर्थ खेतीपाती फलोस् र जीवनमा उन्नति होस् भन्ने आध्यात्मिक मान्यतासँग पनि जोडिएको छ।
यस विशेष अवसरमा किरात समुदायमा प्रचलित चण्डी नाच र साकेला नाच नाचिन्छ। वैशाख शुक्ल पूर्णिमाको दिन चण्डी नाच नाचिने भएकाले यस दिनलाई चण्डी पूर्णिमा पनि भन्ने गरिन्छ। काठमाडौँ उपत्यकाको ललितपुरस्थित हात्तीवनमा रहेको साकेलास्थानमा किरात राई यायोक्खाको अगुवाइमा विशेष पूजा आराधनाको तयारी गरिएको छ। यद्यपि, भौगोलिक विविधता र स्थानीय परम्पराअनुसार खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व प्रत्येक वर्ष जेठ २२ गतेपछि मात्र मनाउने गर्दछन्।
किरात समुदायभित्र पनि पर्व मनाउने समयमा केही भिन्नता पाइन्छ। एकथरिले उत्तरायण सुरु हुने दिन माघ १ गते उभौली र दक्षिणायन सुरु हुने दिन साउन १ गते उधौली मनाउने गरे तापनि बहुसंख्यक किरात समुदायले वैशाख शुक्ल पूर्णिमामा उभौली र मार्गशीर्ष शुक्ल पूर्णिमामा उधौली पर्व मनाउने गर्दछन्। मार्गशीर्ष पूर्णिमामा बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिसहरू आजकै दिनदेखि पुनः उँभो लाग्ने प्रक्रिया सुरु हुन्छ। यसरी प्रकृति र मानव जीवनको अन्योन्याश्रित सम्बन्धलाई झल्काउने यो पर्व किरात राई समुदायको पहिचान र संस्कृतिको एक अभिन्न अङ्गका रूपमा रहेको छ।