arrow

भारत र न्युजिल्याण्डबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

आर्थिक र कूटनीतिक सम्बन्धमा नयाँ युगको शुरूआत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
india-newzland-trade-deal.jpg

काठमाडौँ ।भारत र न्युजिल्याण्डबीचको द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि एक नयाँ अध्याय शुरू भएको छ। दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै व्यापार, लगानी र रोजगारीका क्षेत्रमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। 

यो महत्त्वपूर्ण सम्झौता भारतीय वाणिज्य मन्त्री पीयूष गोयल र न्युजिल्याण्डका समकक्षी टोड म्याकलेको उपस्थितिमा आधिकारिक बनाइएको हो । जसलाई भारतीय अर्थतन्त्र र निर्यातकर्ताहरूका लागि विश्व बजारमा ठूलो कूटनीतिक र आर्थिक विजयका रूपमा लिइएको छ।

यस सम्झौताको सबैभन्दा उल्लेखनीय विशेषता यसको निर्माणको गति रहेको छ। सन् २०२५ मार्च १६ मा शुरू भएको वार्ता मात्र नौ महिनाको छोटो अवधिभित्रै सम्पन्न भएको थियो। सम्झौता लागू भएसँगै भारतीय उत्पादनहरूमा न्युजिल्याण्डले लगाउँदै आएको कर तत्काल शत प्रतिशत मिनाहा हुनेछ भने न्युजिल्याण्डबाट भारत आउने वस्तुहरूमा पनि कर लाग्ने छैन।

हाल न्युजिल्याण्डले भारतबाट निर्यात हुने करिब ४५० वस्तुमा १० प्रतिशत कर लगाउँदै आएकोमा अब भारतीय कपडा, तयारी पोसाक, छाला उद्योग, सेरामिक्स र सवारी साधनका पार्टपुर्जाको निर्यातले ठूलो बढावा पाउनेछ। बदलामा भारतले पनि न्युजिल्याण्डबाट आउने ९५ प्रतिशत सामानमा छुट दिएको छ।

व्यापार सहजीकरणका साथै यस सम्झौताले विदेशी लगानीका लागि पनि बाटो खोलेको छ। न्युजिल्याण्डले आगामी १५ वर्षमा भारतमा २० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। एक महत्त्वपूर्ण रणनीतिक कदमका रूपमा भारतले आफ्नो संवेदनशील घरेलु कृषि र दुग्ध क्षेत्रलाई यस सम्झौताको दायराबाट पूर्ण रूपमा बाहिर राखेको छ। 

दूध, क्रिम, दही र चिजजस्ता दुग्ध उत्पादनका साथै अन्य कृषि उत्पादनलाई आयात छुट नदिएर भारतीय किसान र स्थानीय उद्योगको हित सुरक्षित गरिएको छ।

आर्थिक पक्षका अतिरिक्त यो सम्झौता विद्यार्थी र पेशेवरहरूका लागि पनि कोशेढुङ्गा साबित हुने देखिएको छ। न्युजिल्याण्डले पहिलो पटक कुनै देशसँग विद्यार्थी आवागमन र ‘पोस्ट स्टडी वर्क भिसा’का लागि विशेष सम्झौता गरेको छ। अब भारतीय विद्यार्थीले अध्ययनका क्रममा प्रति हप्ता २० घण्टासम्म काम गर्न पाउनेछन् र विस्तारित वर्क भिसाको लाभ लिन सक्नेछन्। 

साथै, उच्च तलब पाउने रोजगारीको खोजीमा रहेका कुशल भारतीय पेशेवरहरूका लागि पाँच हजार अस्थायी रोजगार भिसाको विशेष कोटा तय गरिएको छ, जसअन्तर्गत उनीहरूले न्युजिल्याण्डमा तीन वर्षसम्म काम गर्न पाउनेछन्। युवाहरूका लागि प्रति वर्ष एक हजारको सङ्ख्यामा वर्किङ होलिडे भिसाको समेत व्यवस्था गरिएको छ।

हस्ताक्षर समारोहमा बोल्दै वाणिज्य मन्त्री पीयूष गोयलले विश्व अर्थतन्त्र पुनर्संरचना भइरहेको र राष्ट्रहरूले नयाँ साझेदार छानिरहेको यो बदलिँदो युगमा भारत र न्युजिल्याण्डले एकअर्कालाई रोजेको बताए। उनले यो सम्झौता प्रधानमन्त्री मोदीको ‘विकसित भारत २०४७’ को दृष्टिकोणको नजिक पुग्ने अर्को महत्त्वपूर्ण खुड्किलो भएको उल्लेख गरे। 

गोयलका अनुसार पछिल्लो साढे तीन वर्षमा भारतले गरेको यो सातौँ व्यापार सम्झौता हो र आगामी केही महिनाभित्रै युरोपेली सङ्घ र अमेरिकासँग पनि यस्तै सम्झौता हुने तयारी भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ