वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथको रथयात्रा: गाबहालमा भक्तजनको घुइँचो [भिडियो]
आज गाबहालबाट मंगलबजार तानिँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
661
Shares
काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज रथलाई गाबहालबाट मंगलबजारसम्म तानिँदैछ। वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन यतिबेला पाटन क्षेत्रमा भक्तजनहरूको निकै ठूलो भीड लागेको छ।
मंगलवार पुल्चोकबाट रथ तानेर गाबहाल पुर्याइएको थियो, जहाँको यात्रा भव्य र उत्साहजनक रहेको स्थानीयहरू बताउँछन्। मंगलवार साँझ रथ गाबहाल पुगेसँगै त्यहाँका बासिन्दाहरूमा छुट्टै रौनक छाएको छ। आज गाबहालमा स्थानीय बासिन्दाहरूको मुख्य पर्व अर्थात् ‘जात्रा’ परेकाले बिहानैदेखि पूजा आराधना गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ।
परम्पराअनुसार आज दिनभर गाबहालमा जात्रा मनाइने र विशेष पूजा हुने गर्दछ। स्थानीयहरूको जात्रा र पूजा सम्पन्न भएपछि आज अपराह्न रथलाई मंगलबजारका लागि तानिने कार्यक्रम रहेको छ। पाटनको यो प्रसिद्ध रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राहरूमध्ये एक मानिन्छ।
उपत्यकामा समयमा वर्षा गराउन मत्स्येन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ। आज मंगलबजार पुर्याइएपछि रथलाई केही दिन त्यहाँ राखिनेछ र त्यसपछि परम्पराअनुसार अन्य गन्तव्यहरूमा लगिनेछ।