काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान एवं सेवन गरी हर्षोल्लासका साथ मनाइँदैछ। शास्त्रीय विधानअनुसार आजको दिन सबेरै उठी घर लिपपोत गर्ने, स्नान गर्ने र भगवान् विष्णुको सोह्र सामग्रीले विशेष पूजा गर्ने प्रचलन छ।
तामा वा माटाका भाँडामा शुद्ध जल राखी त्यसमा दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी र मिश्री मिसाएर बनाइएको सर्वत र जौँको सातु पुरोहित, असहाय एवं विपन्न वर्गलाई दान गर्ने वैदिक सनातनी परम्परा रहेको छ। यस दिन गरिएको स्नान, दान, ध्यान र जपजस्ता पुण्य कर्मको फल कहिल्यै नाश नहुने भएकाले यस तिथिलाई 'अक्षय' भनिएको हो।
धार्मिक रूपमा मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि यस पर्वको विशेष महत्व छ। वैशाखको प्रचण्ड गर्मीमा जौँको सातु र सर्वतले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शक्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउँछन्।
धर्मशास्त्रविद्हरूका अनुसार 'पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर' भन्ने उक्तिलाई यस पर्वले चरितार्थ गर्छ। आजको दिनलाई 'धर्मघटादि दान' गर्ने दिनका रूपमा पनि लिइन्छ, जहाँ वृद्धवृद्धाहरूलाई छाता, लौरो र जुत्ता दान गरिन्छ भने गच्छेअनुसार अन्न, जमिन र सुन पनि दान गर्ने गरिन्छ।
अक्षय तृतीयाको अर्को महत्वपूर्ण पक्ष यसको पौराणिक सन्दर्भ हो। सत्ययुगमा आजकै दिन भगवान् शिव र पार्वतीको विवाह भएको जनविश्वास रहेकाले आजको दिनलाई विवाहका लागि कुनै विशेष लगन वा साइत हेर्नु नपर्ने शुभ दिन मानिन्छ।
साथै त्रेतायुगको प्रारम्भ पनि आजकै तिथिबाट भएको शास्त्रीय मान्यता छ। यसै अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ, जहाँ मानिसहरूले पूजा-आराधना र दर्शन गरी यो पर्व मनाइरहेका छन्।