सिरियामा ५५ लाख विस्थापित, एक करोड ३३ लाख खाद्य असुरक्षामा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
1.8k
Shares
काठमाडौँ। सिरियाले विश्वकै सबैभन्दा ठूलो विस्थापन संकटको सामना गरिरहेको संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूले बताएका छन् ।
राष्ट्र संघकाअनुसार हाल सिरियामा करिव ५५ लाख मानिस विस्थापित भएका छन् भने एक करोड ३३ लाख मानिस खाद्य असुरक्षाको जोखिममा छन् ।
खाद्य असुरक्षा खेपिरहेकामध्ये ७२ लाख मानिसले खाद्यान्नको चरम अभाव झेलिरहेका छन् ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला तथा आपतकालीन राहत संयोजक एवं संयुक्त राष्ट्र संघका उप-महासचिव टम फ्लेचर र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रशासक अलेक्जेन्डर डी क्रुले सिरियाली विदेश मामिला अधिकारी कुतैबा कादिससँगै सिरियाका लागि निरन्तर अन्तर्राष्ट्रिय सहयोगको अपील गरेका छन्।
फ्लेचरले हालैका महिनाहरूमा सिरियामा केही सकारात्मक प्रगति भएको उल्लेख गरे पनि एक दशकभन्दा लामो युद्धका कारण मानवीय अवस्था अझै भयावह रहेको चेतावनी दिएका छन्।
राष्ट्र संघको अनुमानअनुसार यस वर्ष सिरियामा कुल १ करोड ५६ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता छ ।
फ्लेचरले विश्वव्यापी रूपमा सहायता कोषमा भइरहेको कटौतीले मानवीय कार्यहरू प्रभावित भइरहेको कुरामा समेत जोड दिए।
राष्ट्र संघको अनुमानअनुसार सन् २०२६ मा सिरियाको समग्र मानवीय प्रतिकार्यका लागि झन्डै २ अर्ब ९० करोड अमेरिकी डलर आवश्यक पर्नेछ ।
पत्रकार सम्मेलनअघि संयुक्त राष्ट्र संघका अधिकारीहरूले सिरियाका अन्तरिम नेता अहमद अल-शारा र विदेश प्रमुख असाद शैबानीसँग उच्चस्तरीय परामर्श गरेका छन्।
सो भेटवार्ता मानवीय सहायता र पुनरुत्थानका प्रयासहरूको समन्वयमा केन्द्रित रहेको बताइएको छ ।