रौतहटमा एसईईको अन्तिम तयारी, १० हजार बढी विद्यार्थी सहभागी हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
588
Shares
काठमाडौँ । रौतहटमा यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। शिक्षा विकास तथा समन्वय इकाई रौतहटका अनुसार यस वर्ष जिल्लाका १३० विद्यालयका कुल १० हजार ८८ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।
सहभागी विद्यार्थीमध्ये ५ हजार २७१ छात्र र ४ हजार ८१७ छात्रा रहेका छन्। साधारण धारतर्फका अतिरिक्त प्राविधिकतर्फ २४९ र ग्रेड वृद्धितर्फ २४५ जनाले परीक्षा दिनेछन्। परीक्षाका लागि जिल्लाभर ३९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख उपेन्द्र सिंहले परीक्षालाई निष्पक्ष, अनुशासित र पारदर्शी बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको व्यवस्थापन भइसकेको बताए। उनले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने वा चिट चोर्ने/चोराउने जो-कोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्। परीक्षा केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ भने निगरानीका लागि विशेष टोली परिचालन गरिनेछ।
चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने यस परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक र सुरक्षाकर्मीलाई सहयोगका लागि आग्रह गरिएको छ। जिल्ला परीक्षा समन्वय समितिले विद्यार्थीहरूलाई निर्धक्क भएर शान्त वातावरणमा परीक्षा दिन समेत अनुरोध गरेको छ।