काठमाडौँ । पानीको उचित उपयोग तथा यसका स्रोतहरूको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज आइतबार मुलुकभर 'विश्व पानी दिवस' मनाइँदै छ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ खानेपानीको अभावमा मानव शरीरमा लाग्ने रोगहरू र पानीको बहुआयामिक महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराउन सरकारी निकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन्।
विश्वभर पानीका प्राकृतिक स्रोतहरू क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र एकजुट हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिखलाई 'विश्व पानी दिवस' का रूपमा मनाउने घोषणा गरेपछि हरेक वर्ष आजकै दिन यो दिवस मनाउन थालिएको हो।
बढ्दो सहरीकरण र जलवायु परिवर्तनका कारण पानीका मुहानहरू संकटमा परिरहेका बेला यो दिवसको सान्दर्भिकता अझ बढेको सरोकारवालाहरूले बताएका छन्।