arrow

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही सर्वसम्मत निर्वाचित, खुश्बु ओली मुख्य सचेतक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
gyanendra-shahi-20-08.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतृत्व जुम्लाबाट निर्वाचित सांसद ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले सम्हाल्ने भएका छन्। बिहीबार बसेको राप्रपाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको बैठकले शाहीलाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको हो।

पार्टीका प्रवक्ता समेत रहेका शाहीलाई संसदीय दलको नेताको जिम्मेवारी सुम्पिने निर्णय भएको जानकारी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले दिएका छन्। शाही यसअघि पार्टीको प्रवक्ताको रूपमा सक्रिय थिए।

संसदीय दलको बैठकले नेतृ खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। संसदीय दलका नवनिर्वाचित नेता शाहीले ओलीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेका हुन्।

प्रवक्ता श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको उपस्थितिमा संसदीय दलको बैठक बसी माननीय ज्ञान बहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित गरेको छ। साथै संसदीय दलको नेताले माननीय श्री खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय गरेको छ।’

यो नयाँ कार्यविभाजनसँगै राप्रपाले संसद्मा आफ्नो भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ